भुक्तानी नपाए २० हजार प्राविधिक र लाखौं मजदुरको हात दशैँमा रित्तो हुन्छः निर्माण व्यवसायी


१७ आश्विन २०८१, बिहीबार १०:०२ मा प्रकाशित

काठमाडौं । निर्माण व्यवसायीहरुलाई सरकारले करिव ४५ अर्ब रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानी माग्नका लागि निर्माण व्यवसायीहरु विभिन्न निकायहरु धाईरहेका छन् । निर्माण व्यवसायीहरूले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको भन्दै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले रकम भुक्तानीको लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई समेत ध्यानाकर्षण गराइसकेको छ ।

तर सरकार भने निर्माण व्यवसायीहरुको भुक्तानी निरन्तर भइरहेको बताएको छ । सरकारले करिव २० अर्ब बढी रकम निर्माण व्यवसायीहरुलाई भुक्तानी गरिसकेको र बाँकी रकम दशैँअघि दिने कोशिस भइरहेको बताउँदै आएको छ ।

निर्माण व्यवसायीहरु नयाँ सरकारले गरेका प्रतिवद्धताअनुसार समस्या समाधान गर्न नसकेको भन्दै गुनासो गरिरहेका छन् । सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्ने र अन्य समस्या समाधान गरी सहज रूपमा काम गर्ने वातावरण बनाउने आश्वासन दिएपनि दुई महिनासम्म सम्बोधन नहुँदा निर्माण व्यवसायीहरूमा निराशा छाएको छ । विगतमा दशैँअघि सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिने गरेको थियो ।

तर यो वर्ष भुक्तानी नदिँदा निर्माण व्यवसायीहरुसँग जोडिएका प्राविधिकदेखि मजदुरहरुलाई तलव दिनसक्ने अवस्था नरहेको उनीहरुको भनाई छ । साथै चाडपर्वको मुखमै विपद्जन्य घटनाका कारण परिस्थिति सहज बनिरहेको छैन ।

१५ हजार सक्रिय निर्माण व्यवसायी,२० हजार प्राविधिक र लाखौं मजदुरलाई निर्माण व्यवसायीहरुले दशैँको लागि तलव दिनसक्ने अवस्था नभएको निर्माण व्यवसायीहरुले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले विभिन्न निकायबाट ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने भएपनि अहिलेसम्म भुक्तानी नपाएको बताउनु भयो । उहाँले शिथिल अवस्थामा रहेको निर्माण क्षेत्र पछिल्लो बाढी पहिरोको कारण थप मारमा परेको बताउनु भयो ।

उहाँले दशैँमा प्राविधि र मजदुरलाई तलव भत्ता समेत दिन नसक्ने अवस्थामा व्यवसायीहरु रहेको बताउनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिँदा लाँखौं मजदुरहरुको विचल्ली हुने अवस्था आएको बताउनु भयो । उहाँले करिव २ हजार बढी सक्रिय व्यवसायीहरुले सरकारबाट भुक्तानी नपाएको बताउनु भयो । उहाँले मुलुकमा आएको प्राकृतिक विपत्तिले पनि निर्माण व्यवसायीहरुलाई थप प्रताडित बनाएको बताउनु भयो ।

उहाँले बाढी पहिरोको कारण मुलुक भर निर्माणका सामग्री र आयोजनाहरु अस्तव्यस्त भएको बताउनु भयो । उहाँले अहिलेकोअवस्थामा दशैँमा निर्माणसँग सम्बन्धित लाखौं मजदुरको चुलो बाल्नुपर्ने भएपनि सरकारलाई भुक्तानी दिएको कारण व्यवसायीहरु संकटमा रहेको बताउनु भयो । उहाँले सरकारबाट भुक्तानी नआएसम्म सप्लाई र मजदुरहरुलाई व्यवसायीहरुले भुक्तानी गर्नसक्ने अवस्था नभएको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here