प्रधानमन्त्री राहत कोषलाई २५ लाख सहयोग


८ श्रावण २०७६, बुधबार ११:४८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत कोषलाई दुइटा संस्थाले २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले १० लाख र व्यापारिक समूह केडिया ग्रुपले १५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्नका लागि रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद ज्ञापन गरेका छन् । ‘प्राकृतिक विपत्तिमा परेका जनताहरूलाई तपाईंहरूले दिएको रकमले उद्धार र राहतमा ठूलो सहयोग पुग्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘मानवीय सहयोगको यस कार्यका लागि तपाईंहरूलाई हार्दिक धन्यवाद छ ।’

राहत रकम बुझाउन गएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अब सृजना र योगदानको समय आएको बताए । ‘कतिपयले माग राख्नु अघि नै आन्दोलन गर्न सुरू गर्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले लोकतन्त्र ल्याइसक्यौं । लोकतान्त्रिक प्रणाली बसालिसक्यौं । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नु पर्दैन । अब सृजनशिल काम र देशका लागि योगदान गर्ने समय आएको प्रधानमन्त्री ओलीको भनाइ छ ।’

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासका निम्ति प्रतिवद्ध रहेको उल्लेख गरे । सरकारको यस अभियानलाई साथ दिन कर्मचरीहरूलाई प्रधानमन्त्रीले आग्रह गरे । ‘सरकारका हात खुट्टा भनेका कर्मचारी नै हुन्’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण कर्मचारीहरू सेवामुखी भए भने जनतामा सरकारप्रतिको सकारात्मक सन्देश पनि जान्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here