भारतको उद्दार केन्द्रका बालबालिकालाई सहजरुपमा फर्काउन आग्रह


७ श्रावण २०७६, मंगलवार १६:०५ मा प्रकाशित

मेचीनगर । भारतका विभिन्न उद्दार केन्द्रका गृहमा राखिएका नेपालका बालबालिकालाई सहजरुपमा नेपाल फर्काउने वातावरण तयार गर्न त्यसक्षेत्रमा क्रियाशील गैर सरकारी संघ संस्थाले आग्रह गरेका छन् ।

चेलीबेटी तथा बालबालिका बेचविखन बिरुद्ध काम गर्दै आएको भारतको शिलीगडीस्थित कञ्चनजंघा उद्दार केन्द्र, कलकत्ताको सनलप लगायतका संघ संस्थाले नेपालको माइती नेपालको व्यवस्थापनमा काँकरभिट्टा मंगलबार सम्पन्न छलफल कार्यक्रममा यस्तो आग्रह गरेको हो ।

झापा जिल्लाका सुरक्षा निकायका उच्च अधिकारीहरुसँग भएको छलफलमा सनलप संस्थाकी ताप्ती भौमिकले धेरै नेपाली बालबालिकालाई बेचबेखिनबाट समयमै जोगाए पनि स्वदेश फर्काउन भने नसकेको धारणा राखिन । उद्दार गरी सकेका बालबालिकालाई भारतबाट नेपाल फर्काउन धेरै समय लाग्ने भएको हुँदा नेपालकातर्फबाट पनि त्यहाँका सरकारी अधिकारीहरुसँग छलफल गरी सहज र सरलरुपमा छिटो छोटै समयमा नेपाल फर्काउने वातावरण तयार गर्न भौमिकले नेपाली सुरक्षा अधिकारीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले यो समस्या स्थानीय स्तरबाट भन्दा पनि दुई देशका सरकारबीच छलफल गरी सरल र सहज बनाउनुपर्ने बताए । उनले बैठक अन्तरक्रिया र छलफलमा अल्मलिनु भन्दा परिणाममुखी काम गर्न सुझाव दिए । उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकारको हैसियतले प्रदेश र संघीय सरकारसँग समेत यसका लागि आवश्यक छलफल गर्ने बताए ।

झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नेपाल प्रहरीले यसका लागि गर्नुपर्ने सहयोगमा सधैभरि सकरात्मक रहेको बताए । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले कानुन भन्दा बाहिर नगई विदेशमा रहेका यस्ता बालबालिकालाई कसरी सजिलै नेपाल फर्काउन सकिन्छ त्यस विषयमा नेपाल र भारततर्फका गृह मन्त्रालयको भूमिका ठुलो हुने बताए ।

झापा जिल्लाका महान्यायाधिवक्ता केशवप्रसाद पन्तले ती नेपाली बालबालिकालाई छिटो र छरितोरुपमा कसरी नेपाल ल्याउने र अभिभावकको जिम्मा लगाउने त्यस विषयमा सबै क्षेत्र सक्रियपूर्वक लाग्नुपर्ने बताए । चेलीबेटी तथा मानव बेचबिखनका जस्ता आपराधिक घटनामा पीडितले समयमै नबोल्ने गरेका कारण पीडकले उन्मुक्ति पाउने गरेको विचार राखे । माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले सञ्चालन गरेको छलफलमा शिलीगडीस्थित कञ्चनजंघा उद्दार केन्द्रका प्रमुख प्रभात पाठकले धनयवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here