वडाध्यक्षहरुले खोसे मेयर, उपमेयर चढ्ने गाडीको साँचो


३० भाद्र २०८१, आईतवार १९:२७ मा प्रकाशित

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने गाडीको साँचो वडाध्यक्षहरुले नियन्त्रणमा लिएका छन् ।


गएको असारमै नगरसभाबाट पारित हुनुपर्ने बजेट नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि पारित हुन नसकेपछि असन्तुष्ट ११ वटै वडाका वडाध्यक्षले नगरप्रमुख रमेश बुढाथोकी र उपप्रमुख हरिमाया घलानले चढ्ने गाडीको साँचो नियन्त्रणमा लिएका हुन ।

नगरप्रमुखले चढ्ने हरिवन नगरपालिका कार्यालयको प्रदेश–२–०३–००१ झ ००२० नम्बरको स्करपियो र उपप्रमुखले चढ्ने ना १ झ १५७१ नम्वरको टाटासुमोको साँचो नियन्त्रणमा लिएर प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटालाई बुझाइएको हरिवन नगरपालिका–११, का वडाध्यक्ष शेष महबुब रेजाले जानकारी दिए ।

वडाध्यक्ष र कार्यपालिका सदस्यले एक साताअघि नै तत्काल बजेट पारित हुने वातावरण मिलाउन भन्दै नगर प्रमुख बुढाथोकीलाई ज्ञापन–पत्र बुझाएका थिए । मुख्य–मुख्य चाडपर्वको मुखमा बजेट पारित नभएर सामाजिक सुरक्षा भक्ता, तलब, विकास निर्माण कामलगायत सबै क्षेत्र ठप्प हुने अवस्था आएपछि बाध्य भइ नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीको साँचो नियन्त्रणमा लिएर पहिलो चरणको आन्दोलन सुरुवात गरिएको हरिवन नगरपालिका–३, का वडाध्यक्ष दीपमान लोप्चनले बताए ।

उहाँले नगरप्रमुखका कारण नगरपालिका नै डामाडोलको स्थिति सिर्जना भएको आरोप लगाउनुभएको छ । हरिवन नगरपालिका–२, का वडाध्यक्ष अर्जुन कुमार योन्जनले तत्काल नगरसभा बोलाएर बजेट पारित हुने अवस्था सिर्जना गर्न दबाब दिने उद्देश्यले प्रमुख, उपप्रमुखले प्रयोग गर्ने गाडीको साँचो नियन्त्रणमा लिइएको बताउनुभयो । वडाध्यक्षहरुले आफू चढ्ने गाडीको साँचो नियन्त्रणमा लिएपछि नगर प्रमुख बुढाथोकीले वडाध्यक्षहरुसँग छलफल गरेका थिए ।

सो छलफल बिनानिष्कर्ष टुङ्गिएको हरिवन नगरपालिका–८, का वडाध्यक्ष प्रज्वल ढुङ्गानाले जानकारी दिए । वडाध्यक्षहरुले आफूले भनेकै कुरा हुनुपर्छ भनिरहेका कारण यो अवस्था आएको नगर प्रमुख बुढाथोकीको भनाइ छ ।

हरिवनमा गत वर्ष पनि नगर प्रमुख र वडाध्यक्षबिच बजेट विनियोजनका विषयमा विवाद हुँदा दशैँको मुखमा आएर मात्रै नगरसभाबाट बजेट पारित भएको थियो । यो वर्ष दशैँ सुरु हुनै लाग्दा बजेट नै अनिश्चित बनेपछि सामाजिक सुरक्षा भत्ता खाने ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला, बालबालिका, तलब बुझ्ने कर्मचारीलगायत आम नगरवासी निराश बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here