अत्यावश्यक वस्तुको सहज उपलब्धताको ग्यारेन्टी सरकारले गर्छः उद्योगमन्त्री भण्डारी


२७ भाद्र २०८१, बिहीबार १४:१९ मा प्रकाशित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडवाडमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरी सुपथ मूल्यमा खाद्यान्नहरु उपलब्ध गराइने बताउनुभएको छ ।


बिहीवार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन थप योजना, व्यवसायिकता वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले साल्ट ट्रेडिङ कर्पोरेशनको व्यवसायिकता बिस्तार गर्ने र अझ सेवा प्रवाहमा सहज गर्ने कुरामा मन्त्रालयले आवश्यक योजना बनाइरहेको बताउनु भयो । उहाँले सरकारले मन्त्रीपरिषद्को बैठकबाट चिनीको आपूर्ति सहज बनाउन ५० प्रतिशत भन्सार छुट दिएको बताउनु भयो ।

उहाँले असोजको ७ गतेबाट सुपथ मूल्यका पसलहरु देशभर ४२ वटा जिल्लामा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले चामल, दालमा ५ रुपैयाँ छुट दिने र चिनीमा अहिलेको बजार १०७ रहेको र घटाउने योजना बनाइरहेको बताउनु भयो ।

कृत्रिम अभाव सिर्जना गर्न नदिने पनि दाबी गर्नुभयो । चिनी, दाल, चिउरा, नुन, मैदा लगायतका अत्यावश्यक वस्तुमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहज रुपमा गुणस्तरीय वस्तु उपलब्ध गराउने सरकारको उद्देश्य रहेको बताउनु भयो । मन्त्री भण्डारीले अत्यावश्यक वस्तुको सहज उपलब्धताको ग्यारेन्टी सरकारले गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here