केन्याको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु


२१ भाद्र २०८१, शुक्रबार १५:५५ मा प्रकाशित

काठमाडौं । केन्याको एक विद्यालयमा भएको भिषण आगलागिमा परी १७ विद्यार्थीले ज्यान गुमाएका छन्। केन्याको मध्य भागमा रहेको एक विद्यालयमा बिहीबार राति आगलागी भएको जनाइएको छ। जसका कारण कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको र अन्य दर्जनौ घाइते भएको केन्याको प्रहरीले जनाएको छ।

न्येरी काउन्टीमा रहेको हिलसाइड एन्डाराशा प्राथमिक विद्यालयमा लागेको आगोको कारण हालसम्म खुल्न सकेको छैन, र घटनाको छानबिन सुरु गरिएको केन्याको प्रहरीले जनाएको छ। घटनामा दर्जनौं अन्य गम्भीर रूपमा जलेर अस्पताल लगिएको हुँदा मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

प्रहरीका अनुसार, हिजो राति विद्यालयमा लागेको आगलागीपछि हिलसाइड एन्डाराशा प्राथमिक विद्यालयमा अनुसन्धान टोली परिचालन गरिएको छ। १७ विद्यार्थीको ज्यान लिने गरी भएको उक्त आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन्।

स्थानिय प्रहरी प्रमुख पियस मुरुगुका अनुसार, मध्यराततिर आगलागी भएको छात्रावासमा १ सय ५० भन्दा बढी विद्यार्थी थिए। विद्यालयका अधिकांश भवनहरू काठले बनेका कारण आगो तीव्र गतिमा फैलिएको जनाइएको छ। विद्यालयमा भने कूल ८२४ विद्यार्थी रहेको र जसमा प्रायः पाँचदेखि १२ वर्षका बालबालिका रहेका जनाइएको छ। अनुसन्धान टोलीहरू पहिले नै विद्यालयमा पुगेका छन्।

राष्ट्रपति विलियम रुटोले आगलागीलाई भयानक र विनाशकारी भन्दै घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत यसमा जिम्मेवार व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख गरेका छन्। साथै उनले आगलागीमा घाइते भएकाहरुको सिग्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

प्रहरी प्रवक्ता रेसिला ओन्याङ्गोले एएफपी समाचार एजेन्सीलाई उदृत गर्दै उद्धार गरिएका शवहरू पहिचान गर्न नसकिने गरी जलेको बताएका छन्। घटनास्थल पूर्ण रूपमा अनुसन्धान भएपछि थप शवहरू भेट्टिन सक्ने सम्भावना रहेको ती अधिकारीले बताए।

केन्याको गृह मन्त्रालयले घटना गम्भिर र भयानक भन्दै अपराध अनुसन्धान निर्देशनालयका फरेन्सिक विशेषज्ञसहितका प्रहरी अधिकारीहरू आगलागीको कारण पत्ता लगाउन घटनास्थलमा खटिएको जनाएको छ। मन्त्रालयले घटनास्थललाई प्रहरीले घेरा हालेर अनुसन्धान सुरु गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here