विश्व हानी नोक्शानी कोषको रकम ल्याउन आन्तरिक तयारी बलियो बनाउनुपर्छः डा. महेश्वर ढकाल


२१ भाद्र २०८१, शुक्रबार १०:४८ मा प्रकाशित


काठमाडौं ।
अन्तर्राष्ट्रिय हानी तथा नोक्शानी सम्बोधन कोष कार्यसमितिका वैकल्पिक सदस्य डाक्टर महेश्वर ढकालले जलवायु परिवर्तनका नाममा आएको सहयोग फिर्ता हुनु दुर्भाग्य भएको बताउनुभएको छ ।


जलवायु परिवर्तनजन्य विपद्का घटना बढ्दै जाँदा नेपाल जस्तो मुलुकले जलवायु अनुकुलन र क्षतिपूर्ति वापतको रकम अन्तर्राष्ट्रिय जलवायु वित्त कोषबाट ल्याउनुपर्ने आवाज उठिरहँदा प्राप्त रकम पनि खर्च गर्न नसकेर फिर्ता हुनुले विश्वजगतमा सकारात्मक सन्देश नजाने उहाँले बताउनु भयो ।

दिगो विकास इन्स्टिच्युटले ललितपुरमा गरेको कार्यक्रममा उहाँले जलवायु परिवर्तन न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय सहयोग ल्याउनुपर्ने सम्बन्धमा दबाब दिएसँगै प्राप्त रकम खर्च गर्न विश्वासिलो, भरपर्दो र क्षमतावान संरचनाको विकास गर्नु पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो । उहाँले जलवायुजन्य विपद्बाट हुने हानी,नोक्शानी न्युनिकरण तथा क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय दबाबसँगै राष्ट्रिय तयारीलाई अघि बढाउनुपर्ने बताउनु भयो । 


अन्तर्राष्ट्रिय हानी तथा नोक्शानी सम्बोधन कोषमा वित्तीय परिचालनको कार्यविधि तथा मापदण्ड लचिलो बनाउनका लागि पहल र दबाब दिने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । आफूले कोषबाट सिधै नेपालको संस्थामा पैसा आउने गरी व्यवस्था गर्नुपर्ने आवाज उठाएको पनि उहाँले बताउनु भयो ।

कोषका कतिपय प्रशासनिक कामहरु टुंगिँदै गएको जानकारी दिँदै उहाँले अब बस्ने तेश्रो बैठकले वित्त परिचालनका मापदण्डमा पनि सहमति जुटाउने अपेक्षा आफूले लिएको बताउनु भयो । उहाँले कोषले आफ्ना सबै काम सकेर कार्यान्वयनमा आउने समयसम्म नेपालले पनि हानी, नोक्शानी कोषबाट आउने रकम जम्मा हुने संस्था टुंगोमा पुराउनुपर्नेमा जोड दिनुभयो । कोषको रकम सिधै सरकारको संरचनामा जम्मा गर्दा विभिन प्रक्रियागत जटिलताका कारण विपद् पीडितको पहुँचमा पुग्न कठिन हुने जोखिमलाई मध्यनजर गरी अन्तर्राष्टिय निकायले विश्वास गरेका संरचनाहरुलाई जिम्मेवारी दिनुपर्ने तर्क उहाँको थियो ।

त्यसका लागि आवश्यक ऐन तथा नीतिहरु पनि परिमार्जन गर्न ढिलाई गर्न नहुनेमा पनि उहाँले जोड दिनुभयो । 
उहाँले धेरै संस्थाहरु श्रृजना गर्दा अनावश्यक खर्च बढ्ने भन्दै भएकै संरचनाहरुलाई हानी, नोक्शानी वापत प्राप्त हुने रकमको परिचालनको जिम्मा दिनुपर्ने सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here