अस्पतालका सबै सेवा प्रवाहलाई प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन


२० भाद्र २०८१, बिहीबार १७:५३ मा प्रकाशित


काठमाडौं ।
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्पतालहरुको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।


बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले अस्पतालहरुको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाइ आम नागरिकको सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकपछि समितिका सभापति अम्मरबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औषधिको गुणस्तर र सुनिश्चितताका लागि उत्पादन, विक्री वितरण लगायतका कार्यलार्य नियमन गर्न र दर्ता नभएका पोषण परिपूरकहरुको जथाभावी विक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिनुभयो ।

त्यस्तै समितिले स्वास्थ्य बीमा योजनालाई व्यवस्थित गर्ने, स्वास्थ्य बीमा अन्तर्गत समावेश गरिएका तथा बिरामीका लागि आवश्यक सबै प्रकारका औषधिहरु अस्पतालका फार्मेसीबाटै सहजै प्राप्तिको  सुनिश्चित गर्न निर्देशन दिनुभयो ।

आम नागरिकको सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्ने सम्बन्धमा समितिले विगतमा दिएका निर्देशनहरुको कार्यान्वयन गरी सो को प्रगति विवरण १० दिनभित्र समिति समक्ष उपलब्ध गराउन निर्देशन दिनुभयो । सभापति थापाले स्वास्थ्य मन्त्रालयबाट यस वर्ष एउटा पनि कानून नआएको बताउनु भयो । शिक्षा र स्वास्थ्यमा सुधार नगरे देशको भविष्य बनाउन नसकिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here