निर्माणाधिन संसद भवनको काम अझै डेढ वर्ष सकिएला जस्तो छैनः सभामुख घिमिरे


२० भाद्र २०८१, बिहीबार १७:४९ मा प्रकाशित


काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

बिहीवार निर्माणाधिन नयाँ संसद भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउनसके पनि भित्रका फिनिसिङका कुराहरु सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गर्नुभयो ।

उहाँले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गर्नुभयो । निर्माणका लागि कुनै जटिलताहरु भए सरकारसँग छलफल गरी समाधान गर्न पनि आग्रह गर्नुभयो । 


शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन ८१ प्रतिशत रहेको बताउनु भयो । उहाँले भवनहरुमा छानाको काम सबै सम्पन्न भइसकेको पनि बताउनु भयो । उहाँले इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरु अघि बढिरहेको जानकारी दिनुभयो । १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेको जानकारी दिनुभयो । 


महानिर्देशक महर्जनले निर्माण कार्य समयमै सक्न दुई चरणमा काम गर्न निर्देशन दिएपनि अहिलेसम्म शुरु नभएको बताउनु भयो । निर्माण कार्य निर्धारित समयमै सक्नेगरी काम गर्नुपर्नेमा सरकारको जोड रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here