इलाम । अदुवाको भाउ बढेसँगै इलामका किसानहरु खुसी भएका छन् । गत वर्ष प्रतिमन एक हजारदेखि एकहजार ५०० रुपैयाँको हाराहारीमा रहेको अदुवाको मूल्य बढेर अहिले प्रतिमन छ हजार रुपैयाँ पुगेपछि किसानहरु खुशी भएका हुन् ।
इलाममा अहिले अदुवाको भाउ छ हजारको हाराहारीमा छ । ब्यापारीले किसानसँग प्रतिमन कम्तिमा छ हजारको हाराहारीमा अदुवा खरिद गर्दै आएका छन् । अदुवा फागुन, चैत्र महिनामा रोप्ने गरिन्छ । उ बेला रोपेको अदुवाको हाल माउ (बुडी) झिक्ने गरिन्छ । अर्थात रोपिएको बिउ अदुवा नै माउको रुपमा झिकेर बेच्ने गरिन्छ । रोपिएको माउ नै बेच्ने कृषि उत्पादन अदुवा मात्र हो । बिउ नै निकालेर बेच्न पाउँदा किसान खुसी छन् ।
जिल्लाका प्राय सबै स्थानिय तहमा अदुवा हुन्छ । यहाँका धेरै किसानहरु अदुवा उत्पादन गर्दछन् । बारीको अदुवा स्थानीय ब्यापारीलाइ नै खनेर लानेगरि ‘गोरु मोलाई’ बेच्न थालेका छन । गत वर्षहरुमा अहिलेको भन्दा निकै कम भाउ भएकाले यस वर्ष कम किसानले मात्र अदुवा रोपेका थिए । अदुवा कम भएपछि भाउ राम्रो भएको ब्यापारीहरु बताउँछन् । हाल किसानहरुबाट ब्यापारीहरुले ५८ सय देखी छ हजार सम्म प्रतिमन अदुवा खरिद गरिरहेका छन् ।
मसलाका रुपमा प्रयोग गरिने अदुवाको प्रमुख बजार भारत नै हो । यहाँ उत्पादन भएको अदुवाको एक मात्र बजार भारत भएकाले कहिलेकाहिँ समस्या आइरहने गर्दछ । यस वर्ष अदुवाको भाउ राम्रो भएपनि समय समयमा भारतले नेपालको अदुवा निकासीमा समस्या गराउने गरेकाले यहाँका किसान तथा ब्यापारी चिन्तित छन् । निकासीमा आउने समस्या सँधैका लागि अन्त्य भए किसानलाई अदुवा उत्पादन बढाउन र ब्यापारीलाई ढुक्कका साथ अदुवा खरिद गर्ने वातावरण मिलाउन उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।





