आज कुशे औँशी, गोकर्णेश्वर र पशुपतिमा श्राद्ध गर्नेको भीड


१७ भाद्र २०८१, सोमबार ११:२१ मा प्रकाशित

काठमाडौं । आज कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिन । कुशे औँशीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदरसम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । कुशे औँशीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ ।

कुशे औँशीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित वागमती नदी किनारमा आफ्नो पिता गुमाएकाहरुले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्डदान दिइ पितालाई सम्झनेहरुको भीड देख्न सकिन्छ । आज पितृहरुलाई सम्झने दिन भएकाले कुश किन्न आएको र पशुपति दर्शन गर्न आएको किशोर पन्त बताउनु हुन्छ ।

आजको दिन उखेलेको कुश वर्षभर उपयोग गर्न मिल्ने भएकाले किन्न आएको बताउनु भयो । त्यस्तै कुश बेच्नका लागि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर ८ बाट आउनुभएका लिलानाथ चौलागाईंले जन्मदेखि मृत्युसम्म प्रयोग गर्न मिल्ने कुशको महत्व धेरै रहेको बताउनु भयो ।

उहाँले आजको दिन कुश हुनेले उखेलेर नहुनेलाई बेच्ने र नभएकाले किन्ने परम्परा रहेको बताउनु भयो । त्यस्तै पशुपति क्षेत्रमा पुग्नुभएका एक पुरोहितले कुशे औंशीको देवकार्य र पितृकार्यमा धेरै महत्व रहेको उल्लेख गर्नुभयो । 


आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लाग्छ । आजको औँशीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here