काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएको टिप्पणी गर्नुभएको छ । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले संसदमा अध्यक्ष दाहालले बोलेको कुरा नियाल्दा कुनैपनि नेताले आफ्नो योजना र रणनीतिअनुसार सरकारको नेतृत्व गर्ने लक्ष्य राख्नुपर्ने भएपनि दाहालले अब माओवादी केन्द्र र आफू कुनैपनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिबाट पराजय स्वीकार गर्नु सरह रहेको उल्लेख गर्नुभयो ।
उहाँले सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एकप्रकारको सन्यासको घोषणा रहेको बताउनु भयो । उहाँले सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भुमिकाबारे प्रश्न कुण्ठा व्यक्त गर्नुभएको बताउनु भयो ।
उहाँले प्रमुख प्रतिपक्षको दलको नेताको भुमिकाबाट पनि छिटै नै जनताले हटाउने भन्दै अब धेरै समय कुर्नुनपर्ने बताउनु भयो । प्रमुख सचेतक बर्तौलाले पूर्वप्रधानमन्त्रीले आफ्नो जिम्मेवारी बिर्सिएर संसदमा कुण्ठा व्यक्त गर्नुभएको बताउनु भयो ।