सोमबारदेखि फेरि मनसुन सकृय, सर्तकता अपनाउन आग्रह


६ श्रावण २०७६, सोमबार ११:०५ मा प्रकाशित

काठमाडौँ । केही दिन निष्कृय रहेको मनसुन सोमबारदेखि फेरि सकृय भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि केही दिन भारी पानी सम्भावना रहेकाले मध्य तथा पूर्वी भेगमा सर्तकता अपनाउन आग्रह गरेको छ । मध्य र पूर्वी भेगका केही ठाउँमा सोमबार भारी वर्षा हुने सम्भवना रहेकाले बाढी, पहिरो तथा डुबानको खतराबाट सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

पानी पार्ने वायु (न्यून चापीय रेखा) नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा पानी पर्ने मौसमविदले जानकारी दिएका छन् । अहिले झापा सहित पूर्वी भेगका अधिकांश भूभाग र काठमाडौं उपत्यकासहित मध्य भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा पानी परिरहेको छ ।

यस्तै, पश्चिमी भूभागको मौसम आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पूर्वी र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पूर्व र मध्य भेगका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा पानी पर्नेछ । आज राति पनि देशका अधिकांश भूभागमा पानी पर्ने महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here