भारतीय राज्यमन्त्री खड्सेद्वारा बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त


८ भाद्र २०८१, शनिबार १५:३४ मा प्रकाशित

काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मस्र्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त गर्नुभएको छ ।

शुक्रवार(हिजो) भारतीय पर्यटक सवार बस बिहान करिव साँढे ११ बजे सडकमा अनियन्त्रित भई मस्र्याङ्दी नदी किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परि २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

सो घटनापछि शनिबार नेपाल आउनुभएकी भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले शिक्षण अस्पताल पुगेर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । घाइतेको अवस्था जानकारी लिएसँगै उहाँले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गर्नुभएको छ । गृहमन्त्रीसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभएको हो ।

उहाँले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिहरुलाई बचाउन सकिएको भन्दै प्रशंसा गरेको जानकारी दिनुभयो । राज्यमन्त्री खड्सेले आफु शिक्षण अस्पताल पुगेर बिरामीसँग बुझ्दा उपचार राम्रोगरी भइरहेको पाएको पनि आफूलाई बताएको उहाँले उल्लेख गर्नुभयो । राज्यमन्त्री खड्से अब चितवन जाने र शवपनि भारत लिएर जाने मन्त्री लेखकले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here