मर्स्याङ्दी बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने


८ भाद्र २०८१, शनिबार ०७:२८ मा प्रकाशित

चितवन । तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण चितवनमा हुने भएको छ । 

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

आँबुखैरेनी अस्पतालमा ज्यान गुमाएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो ।

घाइतेहरूको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको एसपी रायले बताए । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा दश जना र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीको नेतृत्वमा ५१ जना, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गण कुरिनटारबाट प्रहरी नायब उपरीक्षक विजय हमालको नेतृत्वमा ३५, नेपाली सेनाको कालीभञ्जन गण (इ) बाट सेनाको टोली उद्धारमा जुटेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here