रवि लामिछानेको अपराध प्रमाणित गर्न सक्छु: मुकुल ढकाल


८ भाद्र २०८१, शनिबार ०७:२१ मा प्रकाशित

काठमाडौँ । रास्वपाबाट कारबाहीमा परेका पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई किर्ते र ठगीमा संलग्न अपराधीका रूपमा आफूले प्रमाणित गर्न सक्ने दाबी गरेका छन् ।

पार्टीले सोधेको स्पष्टीकरणको लिखित जवाफ दिने क्रममा उनले लामिछानेलाई भ्रष्टाचार गरेको र राहदानी दुरुपयोग गरेको आरोप लगाएका छन् । 

रास्वपाको केन्द्रीय समितिले बुधबार ढकाललाई ‘साधारण सदस्यबाट किन निष्कासन नगर्ने ?’ भनी दोहोर्‍याएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सभापति लामिछानेलाई नै सम्बोधन गरेर ढकालले लेखेको स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंले सहकारी ठगी गर्नुभएको छ, मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु ।’

उनले सहकारी मुद्दामा लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने र भ्रष्टाचार मुद्दामा पनि कैद सजाय भोग्न सक्ने उल्लेख गरेका छन् । राहदानी दुरुपयोगका कारण लामिछाने कहिल्यै निर्वाचनमा भाग लिन नपाउने अवस्थामा पुग्ने पनि ढकालले जनाएका छन् ।

सभापति लामिछानेले गरेको ‘कुकर्म’ पर्दाफास गर्नु पार्टी संस्थापकको हैसियतले आफ्नो कर्तव्य रहेको ढकालले तर्क गरेका छन् । उनले पत्रमा लेखेका छन्, ‘तपाईंले आफू ठग, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ । आम पार्टी सदस्य एवं नेतागणको राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागि प्रयोग गरिरहनुभएको छ ?’ लामिछानेले आफ्नो वाक्कलाका आधारमा जनतालाई भ्रममा पारिरहेको आरोप पनि उनले लगाएका छन् ।

कारबाहीको डन्डा चलाउने लामिछानेको ‘दुस्साहस’ ले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको ढकालको ठम्याइ छ । ‘आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास गर्दै हुनुहुन्छ, यसको परिणामस्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्,’ उनले पत्रमा लेखेका छन् । कान्तिपुर दैनिकमा खबर छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here