पार्टी कार्यकर्तालाई प्रचण्डको आश्वासनः पार्टी एकतावद्ध छ, एकतावद्ध भएर जान्छौँ


१ भाद्र २०८१, शनिबार ११:५० मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतावद्ध रहेको र एकतावद्ध भएर केन्द्रिय कमिटी बैठकमा जाने बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्थायी कमिटीको बैठकमा केही सदस्यहरुले भिन्न ढंगले धाराण राख्नुभएको बताउनु भयो । उहाँले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा आफ्नो धारणा राख्नुभएको र त्यो फरक मत नरहेको बताउनु भयो ।

उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको भन्ने कुरा नेतृत्वबाट नभनिएको बताउनु भयो । उहाँले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताउनु भयो ।

आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको अध्यक्ष दाहालको स्वीकारोक्ति थियो । उहाँले जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह समेत गर्नुभयो । उहाँले पार्टी अब नफुट्ने पनि दाबी गर्नुभयो ।

उहाँले उपमहासचिव शर्माले उठाउनुभएका केही कुराहरु गम्भीर आशंकाका रहेको बताउनु भयो । अध्यक्ष दाहालले आगामी निर्वाचनसम्म पार्टीलाई राम्रो पार्टीका रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आगामी दिनमा देशव्यापी रुपमा अभियान सञ्चलन गर्ने बताउनु भयो । जनतासँग सम्बन्धित भएर पार्टी रुपान्तरण एवं एकीकरण गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here