आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छः सभापति लामिछाने


३० श्रावण २०८१, बुधबार १६:१६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताउनुभएको छ ।बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले संक्रमणकालिन न्याय निरुपणको गाँठा फुकाउनेगरी कानून बनेपनि कानून आफैँले न्याय नदिने उल्लेख गर्नुभयो ।

उहाँले न्याय दिनका लागि संरचना चाहिने भन्दै उहाँले संरचनामा रहने व्यक्तिको नियत सफा रहनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक स्वार्थका आधारमा दलिय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्याय सुनिश्चित गर्न नसकिने बताउनु भयो ।

उहाँले आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने बताउनु भयो । आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गराउन सके राम्रो हुने धारणा राख्नुभयो । उहाँले राजनीतिक नियुक्ति भएर आउने महान्यायाधिवक्ताले आयोमार्फत रायको लागि आउने घटनामा दलिय स्वार्थ राख्ने सम्भावना हुने भएकाले यसप्रति सचेत हुनुपर्ने बताउनु भयो । 

सभापति लामिछानेले देशभित्र टुंगिएका मुद्दामा अन्तर्राष्ट्रिय प्रश्न नउठ्ने परिस्थिति बनाउनुपर्ने बताउनु भयो । अन्तर्राष्ट्रिय समुदायको चिन्ता र चासोबारे पनि ख्याल गर्नुपर्ने बताउनु भयो । उहाँले संक्रमणकालिन न्याय निरुपणमा रास्वपाको सकारात्मक सहयोग हुने भन्दै संसदको चौथो शक्तिको रुपमा रास्वपाको उपस्थितिप्रति नजरअन्दाज नगर्न पनि दलहरुलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here