खोटाङ । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा लोकसेवा आयोगको पाँचौ तह परिक्षा सञ्चालनका क्रममा प्रश्नपत्र खोस्न खोजेको भन्दै प्रहरीद्धारा पक्राउ परेका चारजना युवाहरुको विनाशर्त रिहाईको माग गर्दै दिक्तेलबजारमा प्रदर्शन गरिएकोे छ ।
संविधानमा समावेसी व्यवस्था र समानुपातिक व्यवस्था विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा शनिबार आव्हान गरिएको १ नम्बर प्रदेश बन्द अन्तरगत नेपाल आदिबासी जनजाती महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव लालबहादुर मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र कोषाध्यक्ष सविना अछामेलाई रिहाईको माग गर्दै प्रदर्शन गरिएको हो ।
संयुक्त संघर्ष आन्दोलन परिचालन समिति तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले दिक्तेलबजारमा शनिबार दिउँसोबाट साँझसम्म प्रदर्शन गर्दै उनीहरुको विनाशर्त रिहाईको माग गरेका हुन् । दिक्तेलको भवनगैराबाट सुरु भएको प्रदर्शन रत्नपार्क, हाटडाँडा हुंदै त्रिवेणीचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई विभिन्न व्यक्तिहरुले सम्बोधन गरेका थिए ।
पक्राउ गरेका चारजना युवाहरुलाई तत्काल रिहाइ गर्न समाजवादी पार्टी जिल्ला समिति खोटाङले पनि जोडदार माग गरेको छ । आरक्षण बचाउ आन्दोलनमा पक्राउ परेकालाई धर पकड तथा कुटपिट गर्दै अमानवीय व्यवहारसहित प्रहरीले पक्राउ गरेकोप्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।





