आइएमई र जीएमईबीच बुधवारदेखि संयुक्त कारोबार शुरु


३० श्रावण २०८१, बुधबार १४:१४ मा प्रकाशित

काठमाडौं । दुई ठूला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबीच बुधवारदेखि संयुक्त कारोबार शुरु भएको छ । नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट्यान्सले जीएमई रेमिट्यान्ससँग मर्ज गर्दै आजदेखि संयुक्त कारोबार शुरु भएको हो ।

बुधवार दुई ठूला रेमिट्यान्स कम्पनीको एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गर्नुभयो । आइएमई र जीएमई रेमिट मर्ज भएपश्चात अब आइएमई लिमिटेडको नामबाट कारोबार शुरु गरेका छन् । एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा बोल्दै आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्ब भन्दा बढीको कम्पनी भएको बताउनु भयो । उहाँले आईएमई गु्रपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी बिस्तार गरेको बताउनु भयो ।

उहाँले रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा शुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा बिस्तार गरिरहेको बताउनु भयो । उहाँले आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरु सक्रिय रहेको समेत बताउनु भयो । उहाँले  आइएमई शुरुवातको समय करिव २० प्रतिशत मात्र औैपचारिक रहेको रेमिट्यान्स अहिले करिव ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको दाबी समेत गर्नुभयो । अध्यक्ष ढकालले रेमिट्यान्स क्षेत्रमा यो नेपालकै पहिलो मर्जर भएको बताउनु भयो । 


कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले रेमिट्यान्स र बैंकिङ कारोबारलाई डिजिटल बनाउँदा पनि समस्या आउने गरेको बताउनु भयो । उहाँले रेमिट्यान्सको भुक्तानीमा कुनैपनि समस्या आउन नदिनको लागि राष्ट्र बैंकले विभिन्न निर्देशन जारी गरिरहेको बताउनु भयो । उहाँले दुई ठूला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबीच बुधवारदेखि संयुक्त कारोबार शुरु भएर बलियो रेमिट्यान्स कम्पनी बनेको बताउनु भयो । रेमिट्यान्स कारोबार गर्दा बलियो सुरक्षा अपनाएर गर्नु मिश्रले आग्रह गर्नुभयो । उहाँले नेपालबाट हुने हुण्डी कारोबारलाई घटाउनु पर्ने बताउनु भयो । उहाँले दुई ठूला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबीचको मर्जर ऐतिहासिक भएको बताउनु भयो। 


आइएमई शुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेकोमा अहिले २०० मिलियन डलरभन्दा बढी पुगेको छ । दुवै कम्पनीको गत जेठमा भएको साधारण सभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रश्ताव पारित गरेका थिए । राष्ट्र बैंकले रेमिट कम्पनी मर्जर गर्न लिएको नीति कार्यान्वयन गर्ने आइएई पहिलो बनेको छ । मर्जरपछि कारोबार रकमका आधारमा आईएमई र जीएमइ मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ रहेको पुँजी मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here