सभामुख घिमिरे सरकारको निर्देशनमा चलेको रास्वपा सांसदहरुको आरोप


२९ श्रावण २०८१, मंगलवार १८:३५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभामुख देवराज घिमिरेलाई सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभामुख घिमिरेले सरकारको निर्देशनमा आफूहरुको आवाज दबाउन लागेको आरोप लगाएका हुन् ।

बैठकको आकस्मिक समयमा रास्वपा सांसद हरि ढकालले विद्युत प्राधिकरणले उठाउनुपर्ने बक्यौता रकमका बारेमा बोल्दैगर्दा सभामुख घिमिरेले विषयकेन्द्रित नभएको भन्दै बोल्न रोक लगाउनुभएको थियो । त्यसपछि रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) समेतका सांसदहरुले बैठक अवरोध गरेपछि सभामुखले सांसद ढकाललाई बाँकी कुरा राख्न दिनुभएको थियो ।

यसै प्रकरणलाई लिएर रास्वपा सांसदहरुले सभामुखको भुमिकाप्रति आशंका व्यक्त गरेका हुन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रास्वपाका सांसद हरि ढकालले भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक विषय भएको बताउनु भयो । उहाँले आफूले विद्युतको वक्यौता महशुल उठाउनुपर्छ भन्न लाग्दालाग्दै सभामुखले माइकको लाइन काट्नुभएको भन्दै संसदमा महशुल उठाउनुपर्छ भन्न नपाइने हो भनि प्रश्न गर्नुभयो । उहाँले भ्रष्टाचारको विषय संसदमा उठाउन खोज्दा सभामुखबाट माइक काटिनु आपत्तिजनक भएको बताउनु भयो । 

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख देवराज घिमिरेले सरकारले दिएको निर्देशन लागू गर्न लागेको आरोप लगाउनु भयो । उहाँले आफूहरुलाई दुई तिहाईको सरकारले दम्भ देखाउने कोशिस गरेको भान भएको बताउनु भयो । उहाँले सभामुखले आफ्नो पदीय मर्यादा र सांसदहरुको अधिकारको समेत ख्याल नगरी सांसदलाई बोल्न नदिइएको बताउनु भयो । 

उहाँले जनप्रतिनिधिबाट संसदमा मुखरित हुने जनताको आवाज दबाउन खोजिएको भन्दै रास्वपाको संसदमा उपस्थित हुन्जेलसम्म आवाज नदब्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here