नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका अभिभावकीय भुमिकामा


२५ श्रावण २०८१, शुक्रबार १६:३१ मा प्रकाशित

काठमाडौँ । नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका अभिभावकीय भूमिकाको रूपमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार काठमाडौँमा सार्वजनिक गरेको बालबालिका सम्बन्धी तथ्यांकीय प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । 

१० वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुसँग गरिएको कुराकानीमा सो तथ्यांक भेटिएको कार्यालयका जनसङ्ख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । नेपालमा ६६ लाख ६० हजार ८४१ परिवार रहेका छन् । ती परिवार मध्ये ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको देखिएको सो तथ्यांकमा भनिएको छ । निर्देशक लामिछानेले त्यसमा पनि बालिकाहरू बढी परिवारमुलीको रूपमा रहेको पाइएको   बताए ।

उनकाअनुसार बालक ०.३६  प्रतिशत र बालिका ०.७१ प्रतिशत छन् । परिवारमुलीको रूपमा बालिकाको संख्या बढी देखिएको पनि निर्देशक लामिछानेले बताए । प्रतिवेदनमा सहरी र अर्ध सहरी क्षेत्रमा बालिकाहरूको संख्या परिवारमुलीको रूपमा बढी रहेको पनि औँल्याइएको छ । 

निर्देशक लामिछानेले भने, ‘परिवारमुलीको हिसावले हामीले ६६ लाख ६० हजार ८४१ परिवार हाम्रो जम्मा परिवार हो । त्यो परिवारमध्ये ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको अवस्था देखिन्छ । १० वर्षदेखि १७ वर्ष उमेरका बालबालिका परिवारमुलीको रूपमा रहेका छन् ।

७१ दशमलव ३ प्रतिशत परिवारमा बालबालिका रहेपनि करिब २९ प्रतिशत परिवार भने बालबालिकाविहीन रहेको पाइएको निर्देशक लामिछानेले बताए । 

नेपालमा बालबालिकाको संख्या घट्दै गएको प्रतिवेदनले देखाएको छ । निर्देशक लामिछानेकाअनुसार पछिल्लो १० वर्षको अवधिमा बालबालिकाको संख्या १०।९ प्रतिशतले घट्न गएको छ । नेपालका हाल ९८ लाख ६९ हजार ५८३ अर्थात् कुल जनसंख्याको ३३।८ प्रतिशत बालबालिका रहेका छन् । 

०—१७ वर्षसम्मको जनसङ्ख्या ९८ लाख ६९ हजार ५८३

नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये बालबालिका (१८ वर्षभन्दा कम उमेरका अर्थात् ० देखि १७ वर्षसम्मका) को ९८ लाख ६९ हजार ५८३ (३३.८ प्रतिशत) रहेका छन् । जसमध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेको छ । कुल पुरुषमध्ये बालक ३६ प्रतिशत र कुल महिलामध्ये ३२ प्रतिशत बालिका रहेका छन् । 

बालबालिकाको लैङ्गिक अनुपात १०७.६ जना अर्थात् प्रतिएक सय जना महिलामा १०७.६ जना पुरुष रहेको छ । जबकि समग्र जनसङ्ख्यामा महिलाको  जनसङ्ख्या पुरुषकोभन्दा करिब ६.५ लाखले बढी छ भने समग्र बालबालिकाको  जनसङ्ख्यामा बालकको जनसङ्ख्या बालिकाको भन्दा करिब ३.६ लाखले बढी रहेको छ । त्यसैगरी समग्र लैङ्गिक अनुपात ९५.६ मा बालबालिकाको लैङ्गिक अनुपात निकै बढी देखिएको छ । 

नेपालमा सबैभन्दा बढी १० देखि १४ वर्षसम्मका बालबालिका

नेपालमा सबैभन्दा बढी (२९.५५) १० देखि १४ वर्षसम्मका बालबालिका रहेका देखिन्छन् । दोस्रो, तेस्रो र चौथोमा रहेका छन् क्रमशः ५ देखि ९ वर्ष, ४ वर्षभन्दा कम र १५ देखि १७ वर्षसम्मका बालबालिका छन् । 

बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर – १.१ प्रतिशत

वि.सं. २०५८ बाट २०६८ मा बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.४६ प्रतिशत रहेको थियो । वि.सं. २०६८ बाट २०७८ मा पुग्दा यो ऋणात्मक रह्यो । अहिले यो – १.१ प्रतिशत हुन पुगेको छ । यस दश वर्षको अवधिमा समग्र  जनसङ्ख्या १०.१ प्रतिशतले थप हुँदा बालबालिकाको जनसङ्ख्या १०.९ प्रतिशतले घट्न गएको देखिएको छ । जसमध्ये बालकको तुलनामा बालिकाको जनसङ्ख्या करिब ४ प्रतिशत बिन्दुले बढीले घटेको छ ।

बागमती र गण्डकी प्रदेशका परिवारमा बालबालिका बसोबासमा कमी

नेपालका कुल परिवार ६६ लाख ६६ हजार ९३७ मध्ये ७१.३ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्षभन्दा मुनिका बालबालिका रहेका छन् । सबैभन्दा बढी तराईका ७६.१ प्रतिशत परिवारमा बालबालिकाको बसोबास रहेको छ भने सबैभन्दा कम पहाडका परिवारमा बालबालिका बसोबास रहेको देखिएको छ । अर्धसहरी (७६.४ प्रतिशत) र ग्रामीण (७०.५ प्रतिशत) क्षेत्रको तुलनामा सहरी (६५.० प्रतिशत) क्षेत्रका कम परिवारमा बालबालिका बसोबास रहेको छ । बालबालिकाको बसोबास बागमती र गण्डकी प्रदेशका परिवारमा अन्य प्रदेशको तुलनामा कम छ । 

नेपालका एकल परिवारमा ५४.१ प्रतिशत र ४५.९ प्रतिशत संयुक्त परिवारमा कम्तीमा एक जना बालबालिकाको बसोबास रहेको छ । मधेस र सुदूरपश्चिम प्रदेशमा करिब बराबर पारिवारिक संरचना (एकल र संयुक्त) मा बालबालिकाको बसोबास रहेको छ भने अन्य प्रदेशमा संयुक्त परिवारमा भन्दा एकल परिवारमा बालबालिकाको बसोबास रहेको छ । यसले परिवारको संरचना एकल परिवारतर्फ उन्मुख भएको देखिएको तथ्यांकमा देखाइएको छ । 

१० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १.६ प्रतिशतको विवाह

देशका १० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १.६ प्रतिशतको विवाह भएको छ । विवाहित बालबालिका सर्वाधिक (२.६ प्रतिशत) कर्णालीमा र सबैभन्दा न्यून (१.१ प्रतिशत) बागमतीमा रहेको देखिन्छ । नेपालमा बाल विवाह विद्यमानतादर १४.१ प्रतिशत छ । पुरुषतर्फ यो मान ५.० प्रतिशत भने महिलातर्फ २१.९ प्रतिशत रहेको छ । बालविवाहलाई दिगो विकासको महत्त्वपूर्ण सूचकको रूपमा लिइएको छ । यो सूचक कुल २० देखि २४ वर्षका महिलामा २० देखि २४ वर्षका विवाहित महिलाले १८ वर्ष नपुग्दै विवाह गरेको अधारमा गणना गरिन्छ । प्रदेशस्तरमा बाल विवाह हुने पुरुषको सर्वाधिक (९.५ प्रतिशत) विद्यमानतादर कर्णाली प्रदेशमै रहेको छ भने दोस्रो (५.७ प्रतिशत) मधेस प्रदेश र तेस्रो (५.५ प्रतिशत) लुम्बिनी र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

यी तथ्याङ्गले नेपालमा पुरुषको तुलनामा महिलाको बाल विवाहको विद्यमानतादर दोब्बरभन्दा बढी रहेको स्पष्ट देखिन्छ । हिमाल, पहाड र तराईको विश्लेषण गर्दा गणनाको समयमा २० देखि २४ वर्ष उमेर भएका पुरुष र महिलामध्ये १८ वर्ष उमेर पूरा नभई हुने बाल विवाह सर्वाधिक (१५.४ प्रतिशत) तराईमा छ भने हिमालमा १४.९ प्रतिशत र पहाडमा १२.२ प्रतिशत मात्र छ । यसबाट बाल विवाहको समस्या तराई र पहाडमा भन्दा हिमालमा न्यून रहेको देखिन्छ । 

परिवारको सम्पन्नताको पञ्चम वर्गीकरणअनुसार गणनाको समयमा २० देखि २४ वर्षका युवा र युवतीको जनसङ्ख्यालाई हेर्ने हो भने बाल विवाह अति न्यून वर्गभित्र सर्वाधिक (२०.८ प्रतिशत) रहेको देखिन्छ । न्यून वर्गभित्रका बालबालिकामा बाल विवाहको विद्यमानता (१७.८ प्रतिशत) रहेको छ । अति उच्च वर्गमा यो सबैभन्दा न्यून (४.९ प्रतिशत) छ भने उच्च वर्गमा यो ११.७ प्रतिशत मात्र छ (तालिका २७) । यसरी परिवार सम्पन्न हुँदै जाँदा बाल विवाहजस्तो सामाजिक समस्या पनि केही हदसम्म घट्दै गएको देखिन्छ । 

बालबालिका र साक्षरतादर

५ वर्ष र सोभन्दा माथिल्लो कुल जनसङ्ख्यामध्ये ९४.१ प्रतिशत साक्षर रहेको देखिएको छ । 

साक्षर बालबालिकामध्ये ४६.१ प्रतिशतले प्राथमिक तह पूरा गरेको देखिन्छ । एसईई वा सोसरह र सोभन्दा माथिको तह उत्तीर्ण गर्नेको अंश ६ प्रतिशत रहेको छ । 

नेपालमा अझै पनि ५.४ प्रतिशत बालबालिका कहिल्यै विद्यालय नगएका छन् भने बिचैमा पढ्न छाडेका ५.३ प्रतिशत देखिन्छ । विद्यालय नजाने बालबालिका हिमाल र पहाडको तुलनामा तराईमा सर्वाधिक (८.० प्रतिशत) रहेको छ । पहाडमा यो केवल १.९ प्रतिशत रहेको छ । प्रादेशिक तहमा हेर्दा १४.० प्रतिशतसहित मधेस सबैभन्दा उच्च अवस्थामा छ भने गण्डकी १.१ प्रतिशतसहित न्यूनतम अवस्थामा छ ।

किशोरी आमाको सङ्ख्या

बालबालिकाको उमेर समूहभित्र पर्ने किशोरी आमा (१३ देखि १७ वर्षसम्म) १५ हजार १२५ जना रहेका छन् । किशोरी आमामध्ये सर्वाधिक (४८.४ प्रतिशत) तराईमा छन् भने हिमालमा ७.६६ प्रतिशत रहेका छन् । सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा किशोरी आमा बढी छन् ।

बालबालिकाको मृत्युको अवस्था

मृत्यु भएका कुल १५ हजार ८६८ बालबालिकामध्ये सर्वाधिक (६३.९ प्रतिशत) अंश ४ वर्षभन्दा कम उमेरका बालबालिकाको रहेको छ । दोस्रो (१३.३ प्रतिशत), तेस्रो (१२.६ प्रतिशत) र अन्तिममा (१०.३ प्रतिशत) क्रमशः १०-१४, ५-९ र १५-१७ उमेर समूहका बालबालिका रहेका छन् ।

घरको स्वामित्व र बालबालिकाको उपस्थिति

बालबालिका भएका परिवारमध्ये ८७.४ प्रतिशतको आफ्नै स्वामित्वको घर, ११.५ प्रतिशतको भाडाको घर, ०.४ प्रतिशत संस्थागत घर र ०.७ प्रतिशत अन्य प्रकारको आवासीय एकाइमा बसोबास गर्दछन् ।

बालबालिका र घरेलु कामदार

१८ वर्षभन्दा मुनिका घरेलु कामदारको हैसियतमा परिवारभित्र रहेका बालबालिका नेपालमा ०.०३ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ । —न्युज एजेन्सी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here