झापाको मेचीनगरमा पहिलो पटक बुद्धिचाल खेलको प्रशिक्षण शुरु


४ श्रावण २०७६, शनिबार १७:२१ मा प्रकाशित

काँकरभिट्टा । मेचीनगरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर शनिबारदेखि झापाको मेचीनगरमा बुद्धिचाल खेलको प्रशिक्षण शुरु भएको छ ।

बुद्धिचाल खेलको दक्ष अनुभवी र अनुशासीत खेलाडी उत्पादन गर्दै व्यवसायिक रुपमा बुद्धिचाल खेलको विकास र प्रवद्धन गर्ने उद्देश्यले स्थानीय मेची युमा चेस एकाडेमी मेचीनगरले शुरु गरेको छ । कार्यक्रमको उद्घाटन मेचीनगर—६ का वडाध्यक्ष ललितबहादुर तामाङले गरेका थिए । मेचीनगर विभिन्न खेलको उर्वरभूमि भएकाले यहि नगरका विभिन्न खेलाडीहरुले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै बुद्धिचाल खेलको विकास र प्रवद्धनमा स्थानीय सरकारले निभाउनुपर्ने भूमिका पुरा गर्ने वडाध्यक्ष तामाङले प्रतिबद्धता व्यक्त गरे । स्थानीय सरकारले खेलकुदका लागि जस्तोसुकै सहयोग गर्ने उनले बताए ।

एकाडेमीका अध्यक्ष विश्वविजय घिमिरेले उद्घाटन सत्रको सभापतित्व गर्दै अब पनि बुद्धिचाल खेलको विकास र प्रबद्धन नगर्ने हो भने यो खेल लोप हुने अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरे । नगरमा बुद्धिचाल खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएकाले उनीहरु पछि आउने पुस्तालाई यो खेल हस्तान्तरण गर्नका लागि पनि यो प्रशिक्षण कार्यक्रम शुरु गरेको प्रष्ट पारे । यस कार्यक्रमले बुद्धिचाल खेलका अनुभवी दक्ष र अनुशासीत खेलाडी उत्पादन गर्ने कुरामा आफु आशावादी रहेको अध्यक्ष घिमिरेले विश्वास व्यक्त गरे ।

कार्यक्रममा नाइट चेस क्लब काँकरभिट्टाका नव निर्वाचित अध्यक्ष राजु कार्की, विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै तारापुञ्ज माविका प्रिन्सिपल एवम् नेपाल बहुउदद्देश्यीय सहकारी संस्थाका सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य, नेपाली काँग्रेस मेचीनगर—६ का वडा सभापति धनप्रसाद केरुङ लगायतले बोलेबा थिए ।

आयोजक संस्थाका सचिव राजु पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष भरत गुरुङले गरेका थिए । प्रशिक्षणमा नगरका तारापुञ्ज, अरुणेदय, लोफोफोरस, पशुपति, एमिटी, नर्थ प्वाइन्ट, मेची मोडल, तथा सुर्योदय अंग्रेजी माविका छात्र र छात्रागरी कुल ६० जनाको सहभागिता रहेको सचिव पौडेलले जानकारी दिए ।

उनीहरुलाई बुद्धिचाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु विश्वविजय घिमिरे, वलिमान गुरुङ, राजु पौडेल भरत गुरुङलगायतले प्रशिक्षण प्रदान गर्ने बताईएको छ । हरेक साताको शनिबार प्रशिक्षण कार्यक्रम हुने र फागुनमहिनामा समापन हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here