खेल विकास र ऐन कार्यान्वयनमा सक्दो भुमिका निर्वाह गरेँ– शिव कोईराला


२३ श्रावण २०८१, बुधबार १६:२८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निःवर्तमान उपाध्यक्ष शिव कोईरालाले आफ्नो कार्यकालमा नीति बसाल्ने र नेतृत्वलाई स्थायीत्व बनाउन धेरै भुमिका खेलेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित राखेपकै कार्यालयमा बुधवार राखेपद्वारा गरिएको आफ्नो बिदाई कार्यक्रमका अवसरमा उपाध्यक्ष कोईरालाले नियमित बोर्ड बैठक राख्ने, दशकौंसम्म रोकिएको कर्मचारीको बढुवा सफल गर्ने र खेल संघलाई ऐनअनुरूप अगाडि बढ्न प्रेरित गराउने लगायत काम भएको बताउनुभएको हो ।

खेलकुदमा राजनीतिक नियुक्त भएर आउने व्यक्ति, कर्मचारी र खेलाडीबीच राम्रो सम्बन्ध स्थापित गर्न आफूले धेरै प्रयास गरेको उहाँको विश्वास छ । यद्यपि, आफ्नो चारवर्षे कार्यकालमा अझै धेरै गर्नसक्ने भएपनि परिस्थितिवस र विभिन्न बाह्र कारणले गर्दा आफू पूर्णरूपमा सफल हुन नसकेको राखेपका निवर्तमान उपाध्यक्ष कोईरालाको स्विकारोक्ति थियो । 


कोईरालाले परिषद् चार वर्ष उपाध्यक्षका रूपमा काम गर्दै धेरै सिकेको भन्दै अझै यस क्षेत्रमा सुधार गर्नुपर्ने धरै विषय रहेको उल्लेख गर्नुभयो । उहाँले यो जिम्मेवारीमा नरहे पनि अन्य कुनै जिम्मेवारीबाट खेलकुदमा भएका गतिविधि नियाल्ने धारणा राख्नुभयो । खेलकुदमा सफलता प्राप्त गर्न खेलका विभिन्न निकायबीच सम्बन्ध राम्रो हुनुपर्ने उनको धारणा छ । ग्रास रुटका कार्यक्रम नियमित रूपमा अगाडि बढाउनसके खेलकुदको थप राम्रो विकास हुने कोईरालाले बताउनु भयो । उहाँले खेलकुदमा नै काम गरेका व्यक्तिलाई नै खेल विकासको जिम्मेवारी दिँदा अझ केही सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङले निःवर्तमान उपाध्यक्ष शिव कोईरालालाई सम्मान गर्दै बिदाई गर्नुभएको थियो । २०७७ साल साउन १२ गते परिषद्को उपाध्यक्ष पदमा नियुक्त हुनुभएका कोईरालाले गत साउन १२ गते चार वर्षे कार्यकाल पूरा गर्नुभएको हो । कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासका लागि सम्पूर्ण पक्षको एकता आवश्यक रहेको औंल्याउनु भयो । खेलकुद विमालेख कार्यान्वयनमा ल्याइएको तथा कानूनी रूपमा नै खेलाडीको पुरस्कार सुनिश्चित गरिएको उहाँले बताउनु भयो । 


बिदाइका अवसरमा राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीले राखेपका उपाध्यक्षका रूपमा शिव कोईरालाले खेलकुद विकाससँगै कर्मचारीको पनि वृद्धि विकासमा उल्लेखनीय भुमिका निर्वाह गरेको बताउनु भयो । सो अवसरमा मन्त्री चौधरीले खेलकुदका योजना बनाउँदा खेलाडीको सुविधालाई प्रहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here