रौतहट । बाढी प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा दिन वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी रौतहट आइपुगेका छन् ।
बाढी प्रभावित इशनाथ नगरपालिकाको बन्जरहा स्वास्थ्य चौकीमा आएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् । औषधीसहित प्रभावित स्थानमा पुगेका डा. केसीले बिरामीहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरेका छन् । झाडा–पखाला, भाइरल ज्वरो तथा छाला सम्बन्धी बिरामीहरु स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा पुगेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट स्वास्थ्य परीक्षणसम्बन्धी कुनै शिविर सञ्चालन नभएको अवस्थामा डा। केसी आएर स्वास्थ्य परीक्षण गरेपछि बाढीबाट प्रभावित भएका बस्तीका बासिन्दा खुसी भएका थिए ।
बाढीबाट प्रभावित स्थानमा रोगको संक्रमण बढी हुने र महामारी फैलिने सम्भावना बढ्ने भएकाले बिरामीहरुको स्वास्थ्य परीक्षणका लागि रौतहट आइपुगेको डा। केसीले बताए । बाढीबाट प्रभावित स्थानमा खाध्यान्न लगायतका अन्य राहत पुगे पनि स्वास्थ्य सेवा नपुगेकाले रौतहटको बन्जरहामा आएको उनले बताए ।
बाढीबाट प्रभावित भएका नागरिकलाई स्वास्थ्यमा समस्या हुन नदिनका लागि नै औषधिसहित प्रभावित स्थानमा पुगेको उनको भनाई छ । प्रभावित भएको इशनाथ नगरपालिकाका विभिन्न स्थानका बिरामी स्वास्थ्य सेवा लिनका लागि डा। केसीले स्वास्थ्य परीक्षण गरेको स्थानमा पुगेका थिए ।





