मिडिया काउन्सिल विधेयकको नाम आम सञ्चार परिषद् विधेयक राखिने


२२ श्रावण २०८१, मंगलवार १५:१७ मा प्रकाशित

काठमाडौं । मिडिया काउन्सिल विधेयक २०८० को नाम आम सञ्चार परिषद् विधेयक राखिने संसदीय समितिमा सहमती जुटेको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको थियो ।

सोही बैठकमा मिडिया काउन्सिल विधेयकको नामलाई आम सञ्चार परिषद् विधेयक राख्ने सहमती जुटेको हो । समिति सदस्यहरुले मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्नका लागि भनेर संशोधन प्रश्ताव समेत हालेका थिए ।

बैठकमा बोल्दै पनि सदस्यहरुले सो नामलाई नेपालीकरण गर्नुपर्नेमा जोड दिएका थिए । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नामलाई नेपालीकरण गर्न सरकार तयार रहेको बताउनुभएको थियो । यससँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमती जुटेको समिति सभापति जयन्तीदेवी राईले घोषणा गर्नुभयो । अब परिवर्तित नाम अनुरुप बाँकी प्रक्रिया अगाडी बढाउने उहाँले बताउनु भयो ।

उहाँले विधेयकको नाम परिवर्तन गरेको नभई नेपाली भाषालाई जोगाउने उद्देश्यसहित नामको नेपालीकरण मात्रै गरिएको स्पष्ट पार्नुभयो । विधेयकभित्रको विषयवस्तुहरु भने परिवर्तन नहुने उहाँको भनाई छ । 

सभापति राईले सो विधेयक सञ्चार क्षेत्रलाई सरकारले नियन्त्रण गर्नेगरी आएको भन्ने सरोकारवालाहरुको गुनासो रहेको भन्दै कुनैपनि हालतमा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न नदिइने बताउनुभयो । उहाँले सिफारिस समितिको सम्बन्धमा पनि समितिको असहमती रहेको भन्दै सो कुरा सञ्चारमन्त्रीलाई समेत जानकारी गराइएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here