भोगेन्द्र ठाकुरको कुटपिटबाट हत्या गरिएको भन्दै मिटरब्याज पीडितहरुको प्रदर्शन


१७ श्रावण २०८१, बिहीबार १८:३७ मा प्रकाशित

काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका २ मंगलपुरका भोगेन्द्र ठाकुरको कुटपिटबाट हत्या गरिएको भन्दै मिटरब्याज पीडितहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।  श्मसानघाट स्वर्गद्वारीमा मंगलवारदेखि नै शव राखेर धर्ना दिएका मिटरब्याज पीडितले बिहीवार शवसहित जनकपुरधाम नगरमा प्रदर्शन गरेका हुन् ।

श्मसानघाटबाट ट्याक्टरमा शव राखेर जनकपुरधामको रामचोक, जाकचोक, शिवचोक, भानुचोक हुँदै प्रदर्शनकारीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले गृहमन्त्री र धनुषाका प्रहरी प्रमुखविरुद्ध समेत नाराबाजी गरेका छन् । ठाकुरको शव मंगलवार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै जलाउन रोकिएको हो । श्मसानघाटमै शव राखेर सयौंको संख्यामा बुधवारदेसख प्रदर्शनमा उतरिएका थिए । ठाकुरको सोमवार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनको श्रीमती श्यामु ठाकुर गम्भीर घाइते भएकी थिइन् । 


भोगेन्द्रको श्रीमती श्यामुका अनुसार उनी नुहाई रहेको समयमा मोबाइलमा भिडियो खिच्न खोज्दा विवादको शुरुवात भएको र लेनदेनको विषयलाई लिएर आफूहरुमाथी कुटपिट गरिएको र श्रीमानको हत्या गरिएको बताइन् । मृतक ठाकुरले शिवजीबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । उनको श्रीमती श्यामुले आफूले जग्गा बेचेर पैसा बुझाएपनि हिसाब दिन नमान्दा शिवजी यादवसंग पटक पटक विवाद हुँदै आइरहेको बताइन् । 


यही कारण शिवजीले पटक पटक ज्यान मार्नेसम्मको धम्की दिएपछि केही दिनअघि ठाकुरले जिल्ला प्रहरी कर्यालय धनुषामा शिवजीमाथि मिटरब्याजसम्बन्धी उजुरी दिएका थिए । त्यसकै निहुँमा शिवजीकै योजनामा हत्या भएको हुन सक्ने आशंका गरिएको छ । हत्या आरोपमा स्थानीय ४५ वर्षीय सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वर मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।

उनको हत्या स्थानीय मिटरब्याजी शिवजी यादवको योजनामा भएको दाबी गर्दै उनीसहित घटनामा संलग्न अन्यलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्ने मिटरब्याज पीडितको माग छ । मिटरब्याजी शिवजीलाई पक्राउ नगरेसम्म शव नजलाउने मिटरब्याज पीडित संघर्ष समितिको अडान छ । शिवजी यादव, मुकेश मुखिया, सुरज मुखिया, चान्दी मुखिया र मनिष मुखियालाई पक्राउ नगरेसम्म ठाकुरको शव नजलाउने मिटरब्याज पीडितहरुको अडान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here