हवाई एवं सडक दुर्घटना न्युनिकरणका लागि सरकार गम्भीर बन्नुपर्छः उपसभापति खड्का


१७ श्रावण २०८१, बिहीबार १५:३६ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई दुर्घटना एवं सडक दुर्घटना न्युनिकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । बिहीवार सौर्य विमान दुर्घटनाबाट घाइते पाइलट मिनषरत्न शाक्यको स्वास्थ्यअवस्था बुझ्न काठमाडौं मेडिकल कलेज पुग्नुभएका उपसभापति खड्काले यस्तो बताउनुभएको हो ।

उहाँले आफूले पाइलट शाक्यलाई भेटेको र उहाँको स्वास्थ्यअवस्था सुधारोन्मुख हुँदै गएको बताउनु भयो । उहाँले विमानस्थलमा थप केके सुविधा थप्नुपर्ने हो त्यसमा आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो । 

नेपाली काँग्रेसका सांसद एवं अस्पतालका प्रमुख डा. सुनिल शर्माले पूर्वजन्ममा धेरै पुण्य गरेको फल अहिले प्राप्त भएको बताउनु भयो । उहाँले काठमाडौं मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम भन्नेकुरा पनि आम नागरिकलाई जानकारी मिलेको बताउनु भयो । उहाँले अस्पताल र चिकित्सकहरुको मेहनतले पाइलट शाक्यलाई बचाउन सकेको बताउनु भयो । 

यता, अस्पतालकी निर्देशक डा. मिना थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको बताउनु भयो । अवस्था सामान्य बन्दै गएपनि घरमा उपचार भने जारी राख्नुपर्ने बताउनु भयो । उहाँले तत्काल काममा फर्किनसक्ने अवस्था भने नरहेको बताउनु भयो ।

पाइलट शाक्यलाई आज नै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here