काठमाडौं । स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यातेका छन् । प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सुचारू गरेको छ ।
लोकसेवा आयोगले शनिबार बिहान ७ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सञ्चालन गरेको छ । यसक्रममा खोटाङको सदरमुकाम स्थित दिक्तेल बहुमुखी क्याम्पमा रहेको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’का कार्यकर्ताहरु प्रवेश गरेर केही थान प्रश्नपत्रहरु च्यातेका थिए ।
प्रश्नपत्र च्यातेको आरोपमा आफ्ना ४ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए । पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबीमगर समेत छन् । त्यसैगरी दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको अध्यक्ष राईले बताए । आन्दोलनकारीलाई गिरफ्तार गरेपछि कडा सुरक्षा व्यवस्थाबा बीच परीक्षा सुचारु गरिएको स्रोतले बतायो ।
स्थानीय तहमा प्रशासन समूहतर्फ र लेखा समूहतर्फ अधिकृत र सहायक पदका लागि खोटाङबाट २१४ जनाको दरबन्दस्का लागि परीक्षा भइरहेको छ भने धनकुटामा ४९१ र इलाममा २३० गरी ९३५ जनाका लागि शनिबार परीक्षा भइरहेको छ । परीक्षामा ठूलो संख्यामा युवाहरुको उत्साहजनक सहभागिता रहेको छ । लोकसेवाले देशभरिका स्थानीय तहबाट कुल ९ हजार १६१ पदका लागि विज्ञापन खोलेको छ ।
लोकसेवाले निकालेको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजातिको अगुवाइमा आन्दोलन हुँदै आइरहेको छ । लोकसेवाको परीक्षालाई प्रभावित पार्ने उद्देश्यले आरक्षण बचाऊ आन्दोलनले आज प्रदेश १ बन्दको घोषणासमेत गरेको छ । बन्दका बावजुद लोकसेवाले सबै केन्द्रहरूमा परीक्षा सञ्चालन गरिरहेको छ ।
यसैबीच लोकसेवा आयोगको विज्ञापनविरुद्ध इटहरी बजार बन्द गराउँदै हिँडेका आदिवासी जनजाति महासंघका सुनसरी जिल्ला नेता राम राई शनिबार बिहान इटहरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राईसहित अन्य कार्यकर्ता पनि रहेको महासंघले जानकारी दिएको छ ।





