काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्छौं– कप्तान अरुणा शाही


१४ श्रावण २०८१, सोमबार १५:४९ मा प्रकाशित

काठमाडौं । नेपाल घरेलु मैदानमा आगामी बिहीवारदेखि शुरु हुने काभा महिला नेसन्स लिगको उपाधि जित्ने लक्ष्य लिएको छ । यो उपाधि जित्नका लागि नेपालले झन्डै दुई महिनादेखि तयारीसमेत गरेको छ । प्रशिक्षणसँगै नेपालले विश्व भलिबलमा नै बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको छ ।

यद्यपि ती मैत्रीपूर्ण खेलमा नेपालले एउटा सेट पनि आफ्नो पक्षमा पार्न सकेन । तर नेपाली टोली शारीरिक र प्राविधिक रूपमा बलियो रसियाविरुद्ध राम्रो चुनौती दिँदै सकरात्मक सन्देश दिएको छ । 


नेपाली महिला भलिबल टोली कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारी धेरै राम्रो भएको उल्लेख गर्दै उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताउनुभको छ । उनले उपाधि जित्ने लक्ष्यसहित मिहिनित पनि गरेको बताइन् । यद्यपि प्रतिद्वन्द्वी पनि बलिया र अनुभवी रहेकाले लक्ष्य सहज नरहेको पनि स्वीकार गर्नुभयो । घरेलु समर्थकको साथ टोलीका लागि मनोबल बढ्ने उहाँको विश्वास छ । 


लामो समयदेखि प्रशिक्षण प्रशिक्षणसँगै रसियाबिरुद्धको खेल काभाको तयारीका लागि महत्वपूर्ण रहेको कप्तान अरुणा बताउनुहुन्छ । शुरुको खेलमा रसियासँग रिसिभ र डिफेन्समा केही समस्या भएपनि त्यसलाई क्रमिक रूपमा सुधार भइरहेको उनको विश्वास छ । रसियाका खेलाडीलाई हाइट एडभान्टेच भएर पनि उनीहरूको सर्भिस र साइटलाई रोक्न केही कठिनाई भएको अरुणाको बुझाइ छ ।

नेपालकी कप्तान अरुणाले रसियाबिरुद्धको खेलले भारत, श्रीलंका र इरानजस्ता बलिया टोलीसँग खेल्न मद्दत पुग्ने बताउनु भयो । रसियाविरुद्ध हाइट भएको ब्लकमा खेल्दा केही अनुभज प्राप्त भएको अरुणाले उल्लेख गर्नुभयो । अहिले काभामा भएका टोली पनि बलिया रहेकाले उनीहरू खेल्ने सहज नहुने कप्तान अरुणा बताउँछिन् । काभा महिला भलिबलमा नेपालका लागि महत्वपूर्ण मानिएकी प्रतिभा माली हुनेछैन । उनी चोटका कारण लामो समयदेखि मैदान बाहिर छिन् । यद्यपि भएका खेलाडीबाट नै आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास भएको कप्तानको भनाइ छ ।


नेपाली टोलीकी अनुभवी स्पाइकर सरस्वती चौधरीले पनि भारत, इरान र श्रीलंका निकै बलियो टोली रहेको र उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतविरुद्ध राम्रो खेल खेल्दा पनि हारको अनुभव भइरहे पनि यसपटक जित्ने प्रयास हुने बताउनु भयो ।  भारतीय टोलीबाट खेल्ने तीन खेलाडीसँगको नेपालीले घरेलु लिग खेलेकाले त्यसको फाइदा पनि हुने उहाँको विश्वास छ । 


नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले काभा महिला नेसन्स लिगको पूर्वसन्ध्यामा रसियाजस्तो टोलीसँग खेल्न पाउनु ठूलो अवसरको रूपमा लिनुभएको छ । उनले रसियासँगको मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाएको बताउनु भयो । 


प्रशिक्षक भट्टले आफूभन्दा बलियो टोलीसँग खेल्दा हार र जितभन्दा पनि टेक्निक सिक्ने अवसरका रूपमा यो मैत्रीपूर्ण खेललाई लिनुपर्ने औंल्याउनु भयो । बलियो टोली बन्न कसरी खेल्नुपर्छ र के रणनीति आवश्यक पर्छ ? भन्ने कुरा यो मैत्रीपूर्ण खेलबाट सिक्न पाउने प्रशिक्षकको विश्वास छ । प्रशिक्षक भट्टले काभा महिला भलिबलमा नेपालले पाएको सफलतालाई जोगाइराख्न चुनौती रहेको समेत बताउनु भयो । साथै उहाँले भारत, इरान र श्रीलंका नेपालभन्दा केही मात्र माथि रहे पनि जित सम्भव रहेको विश्वास व्यक्त गर्नुभयो ।  


अहिले खेलाडीमा राष्ट्रिय टोलीबाट खेल्दा सबै पायौं भन्दा पनि उपाधि जित्नुपर्छ भन्ने मनोविज्ञान रहेकाले त्यसले नेपाली टोलीमा आत्मविश्वास बढेको प्रशिक्षक भट्ट बताउनु हुन्छ । अहिले टोलीमा रहेका १४ जना खेलाडी नै अंक दिलाउन महत्वपूर्ण हुनेगरी तयारी भइरहेको प्रशिक्षकले बताउनु भयो । नेपालले मैत्रीपूर्ण खेल र काभा महिला नेसन्स लिगको तयारीका लागि १४ सदस्यीय टोली घोषणा गरेको थियो ।

अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो । टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना बिष्ट र उषा भण्डारी छिन् । लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ पनि टोलीमा छिन् । 


मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएकी हुन् । यी दुईले रसियासँग प्रभाव छाडेका थिए । महत्वपूर्ण स्पाइकर प्रतिभा माली भने चोटका कारण टोलीमा छैनन् । नेपाली टोलीको मुख्य प्रशिक्षणमा जगदीश र सहायक प्रशिक्षकमा भरत यादव छन् । नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् । —

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here