पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, १ जनाको मृत्यु, २९ घाइते


१४ श्रावण २०८१, सोमबार ११:२३ मा प्रकाशित

पोखरा । पोखरामा एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटनामा घाइतेमध्ये कार्यालय सहयोगीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २१ बस्ने ३३ वर्षीय आरती बिक हुन् ।

सोमबार बिहान पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार रहेको खुलेको छ । दुर्घटनामा घाइतेको उद्धार गरी अस्पताल पठाइएको थियो । तीमध्ये गण्डकी मेडिकल अस्पतालमा पु¥याइएकी आरतीलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्यको अवस्था सामान्य छ । उनीहरुमध्ये अधिकांशको अनुहार, हातखुट्टा, ढाडमा चोट छ ।

गण्डकी मेडिकल कलेजमा उपचारत् घाइतेमा पोखरा २१ का ९ वर्षीय अनमोल बिक, ५ वर्षीय रोश बराल, १४ वर्षीय दीप्सन कार्की, ६ वर्षीया योजना गुरुङ, १३ वर्षीया डिना गुरुङ, १५ वर्षीया प्रकृति कार्की, ६ वर्षीय प्रिन्स राना, ७ वर्षीया चिजा बिक, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीया विसिका पौडेल, ११ वर्षीय विश्वास पौडेल, ५ वर्षीय प्रिन्स बिक, १२ वर्षीया सिम्रन बिक र ११ वर्षीय विवश खत्री हुन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत् रहेकाहरुमा पोखरा २१ निवासी ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीय सिमन मगर, ३ वर्षीय न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षीय अंकित खत्री, १४ वर्षीया सीतादेवी बिक, ७ वषीय अस्मित बिक, ३० वर्षीया सुमित्रा सुनार (अभिभावक), २ वर्षीय निर्दोष सुनार, ३० वर्षीया शिक्षक सपना आले, ११ वर्षीय निश्चल सुनार छन् ।

मणिपालमा बसचालक पोखरा १७ बिरौटा निवासी ५५ वर्षीय टेकबहादुर भुजेलको मणिपालमा उपचार भइरहेको छ । उनको ढाडमा चोट छ । यस्तै, ८ वर्षीय निशान सुनार र ५ वर्षीय सागर थापाको उपचार भइरहेको छ ।

बस ब्रेक फेल भएर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । विद्यालयका लेखापाल बिन्दु तिमिल्सिनाका अनुसार विद्यार्थी बोक्नका लागि विद्यालयका ३ बस र १ भ्यान छन् । दुर्घटनामा परेको बसले पोखरा २१ को रामदी र एकहातेका ठाउँबाट विद्यार्थी उठाएको थियो । विद्यालयमा हाल ४ सय ६० जना विद्यार्थी पढ्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here