पूर्व फुटबलर गम्भीर राईको निधन


१४ श्रावण २०८१, सोमबार ०७:४७ मा प्रकाशित

झापा । पूर्व फुटबलर गम्भीर राईको निधन भएको छ।

झापा भद्रपुर नगरपालिका–१० चन्द्रगढी बजार निवासी ५६ वर्षीय पूर्व फुटबलर गम्भीरको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनले लामो समयदेखि सुगर रोगको औषधि सेवन गरिरहेका थिए।

२०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए। उनी अन्डर १६, अन्डर १९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए। एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही उनले अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरेका थिए।

झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसकेका उनले २०५६ सालबाट फुटबल खेलबाट सन्यास लिएका थिए।

उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। फुटबल खेलको सुदृढीकरण र विकासमा महत्वपूर्ण योगदान पर्याएको भन्दै भद्रपुर झापा गोल्डकपले २०७९ फाल्गुन १७ गते उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो।

उनका छोरा बिशाल राई पनि फुटबल खेलाडी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here