रास्वपाद्वारा पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन


१० श्रावण २०८१, बिहीबार १६:३८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले परिमार्जन, संशोधनहरु र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहनेगरी कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहनुभएको बताउनु भयो । उहाँले कार्यदलको बैठक आज नै बस्ने उपसंयोजक र सचिव छनोट गर्ने बताउनु भयो ।

उहाँकाअनुसार कार्यदललाई सुझाव प्रतिवेदन दिन ९० दिनको समय दिइएको बतउनु भयो । बैठकले अभियान विभागको नेतृत्व गरिरहनुभएको पार्टीको सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको बताउनु भयो । कर्णाली विशेष अभियान भाद्र दोस्रो सप्ताहदेखि शुरुवात गर्ने बताउनु भयो । पार्टीका विचार मन्थन गर्न, क्षमता अभिवृद्धिमा काम गर्न, रणनीतिमा अझै धेरै छलफल आवश्यक ठानेर पार्टीको क्लोज क्याम्प गर्ने र त्यसको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्ने बताउनु भयो ।

उहाँले केन्द्रिय विभाग मनोनयन र अनुमोदनका लागि हालसम्मको अनुमोदन हुन बाँकी अनुमोदन गर्ने, सबै विभागले आफ्नो कार्यविधि रिभ्यु गर्ने, कार्यविधि आफैँले प्रश्तुत गर्ने र टिम यस्तो हुनुपर्छ भनेर पनि प्रश्ताव गर्ने सैद्धान्तिक सहमति भएको बताउनु भयो । 

कार्यवाहक प्रवक्ता झाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दुतावासमा पठाइएको भनिएको पत्र दुतावासमा रजिस्टर पनि नभएको र सिफारिस गरेअनुसारको सुविधा पनि नपाएको भएकाले आर्थिक चलखेल नभएको बताउनु भयो । उहाँले आफूहरुले संवैधानिक परिषद्मा बहुमतको लागि भएको चलखेलको रुपमा लिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here