प्रचण्डलाई नारायणकाजीको सन्देशः नेतृत्वको जिम्मेवारी दिए सम्हाल्न तयार छौँ


९ श्रावण २०८१, बुधबार ११:११ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायाण्काजी श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिए तयार रहेको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालले ३५ वर्ष पार्टीको नेतृत्व गरिसकेँ अब तपाईंहरुले चलाउनुस् भनेर जिम्मेवारी दिए नेतृत्वका लागि तयार रहनुपर्ने बताउनु भयो । उहाँले अहिलेको अवस्थामा रुपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्ष दाहालले नै गरेर अघि बढ्नु र सबैले साथ दिनेकुरा अहिलेको आवश्यकता भएको जिकिर गर्नुभयो ।

उहाँले माओवादी केन्द्रका लागि सरकारमा रहनु र सरकारबाट बाहिरिनुले कुनै असर नगर्ने भएपनि  अहिलेको कार्यदिशा कार्यान्वयनको निम्ति सरकारको भुमिका महत्वपूर्ण रहने बताउनु भयो । उहाँले सरकारबाट बाहिर आएको अवस्थामा प्रतिक्रियात्मक, आक्रोशपूर्ण ढंगले प्रश्तुत हुन नहुने पनि बताउनु भयो । उहाँले पार्टीको नेतृत्वको सरकारलाई गिराउन विभिन्न ढंगले सधैँ प्रयत्न हुँदै आएको पनि बताउनु भयो ।

उहाँले अहिले बनेको सरकारले राष्ट्रियताको रक्षा नगर्ने, उपलब्धिको रक्षा नगर्ने र सुशासन स्थापित गर्न नसक्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले प्रतिगमनतिर लैजाने खतरा रहेको भन्दै सरकार भ्रष्टचारीको रक्षा गर्ने, थप भ्रष्टाचारीको आधार तयार पार्ने दिशातिर जाने आशंका व्यक्त गर्नुभयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल र आफूबीच फाटो पैदा गर्ने काम भइरहेको भन्दै त्यसको भ्रममा नपर्न आग्रह गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here