विचौलियाहरुको पहलमा नयाँ गठबन्धन बन्योः अध्यक्ष दाहाल


९ श्रावण २०८१, बुधबार ११:१४ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाहरुको पक्षमा काम गर्दा सरकार ढालेको बताउनु भयो । उहाँले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताउनु भयो । उहाँले विचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गर्दै विचौलियकै पक्षमा सरकारले काम गर्ने बताउनु भयो ।

उहाँले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताउनु भयो । उहाँले प्रतिगमनको खतराबिरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरुको मुख्य लक्ष्य रहेको बताउनु भयो । 

अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारको कामबाट आम जनतामा निराशा नरहेको जिकिर गर्नुभयो । उहाँले आफू विजयी भएर बेदाग निस्किएको भन्दै ओम्नी, गिरिबन्धु, नक्कली भूटानी शरणार्थी कुनैपनि भ्रष्टाचारका प्रकरणमा आफूहरु नमुसिएको बताउनु भयो । उहाँले पार्टीलाई अझ उचाईमा लैजाने, जनतामा जाने कुरामा संकल्प गर्नुपर्ने बताउनु भयो । उहाँले जनताले संविधानबाट प्राप्त गरेको उपलब्धि उल्ट्याउने खतरा रहेको बताउनु  भयो ।

प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै संविधान मिच्नेको नेतृत्वमा गठबन्धन बनेको बताउनु भयो । प्रतिगामी कदमको खतरा अझै रहेको बताउनु भयो । उहाँले सरकारमा जाने सोचमा आफूहरु नरहेको भन्दै अब जनतामा जाने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here