राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न काँग्रेस—एमाले सहकार्यः मिनेन्द्र रिजाल


१ श्रावण २०८१, मंगलवार १२:५८ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न कांग्रेस र एमालेले जोखिम उठाएको बताएका छन् ।डा. रिजालले अहिलेको राजनीति र राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्न कुनै न कुनै बेला कांग्रेस-एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको बताएका हुन् । उनले एमाले र कांग्रेसले आफ्नाबीचका अविश्वासलाई बिर्सेर देशप्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको बताए । 

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता रिजालले एमाले र कांग्रेसका शीर्ष नेताहरू देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको बताए । उनले जोखिमका बाबजुत पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनाउन आवश्यक रहेको बताए । डा. रिजालले अहिलेको संविधान छुँदै नछोएको संविधान नभएको भन्दै अहिलेसम्म दुईपटक संशोधन भइसकेको बताए ।

उनले अहिले राजनीतिक पुँजी निर्माण गर्न आवश्यक रहेको बताए । शासनलाई ठीक बाटोमा नलग्दासम्म समस्याहरू सिर्जित भइरहने भएकाले कांग्रेस र एमालेले शासनलाई ठीक बाटोमा लैजान आवश्यक रहेको बताए । उनले एउटाले अर्कोलाई झुक्याउन खोज्न र सत्ताकै लागि मात्रै झगडा गर्ने कुराबाट जनता आजित भइसकेको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने बताए । 

कांग्रेस र एमाले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्छ

देश विकासका लागि काम नगर्ने हो भने आगमी निर्वाचन दुवै पार्टीका लागि कठिन हुने उनको भनाइ छ । कांग्रेसका लागि अझ बढी कठिन बन्ने उनको निष्कर्ष छ ।  निर्वाचनमा जाने क्रममा मधेश, शहरी क्षेत्रमा कांग्रेस र एमाले दुवैले आफ्नो बलियो आधार गुमाएको उनले बताए । डा. रिजालले आधार गुमाउँदै जाँदा आगामी दिनमा दुवै दलको राजनीति सहज नहुने उनको अनुमान छ ।

दुवै दलका नेताले आफ्नो कार्यकाललाई अब जनताले स्मरण गर्न सक्ने गरी योगदान दिन सक्नुपर्ने उनले बताए । उनले संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा कांग्रेस र एमालेले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्ने बताए । पार्टीका तर्फबाट सबै नेताहरूको सहयोग वर्तमान सरकारलाई रहने पनि बताए । उनले साना राजनीतिक दलहरूले पनि अभिमान नभई संयमता अपनाएर काम गर्नुपर्ने बताए । 

नयाँ राजनीतिक दलको परिवर्तनको एजेण्डा कमजोर भयो

उनले परिवर्तनकारी शक्तिको नाम लिएर उदाएका नयाँ राजनीतिक दलहरूको परिवर्तनको एजेण्डा कमजोर भएको बताए । माओवादी केन्द्रप्रति लक्षित गर्दै उनले २०६४ सालमा उदाएका राजनीतिक दलहरूको परिवर्तनकारी एजेण्डा ओझेलमा परेको बताए ।

उनले सत्तादेखि सत्तासम्मका लागि राजनीतिक हुँदा परिवर्तनको नाममा उदाएका कुनै पनि शक्तिले आफ्नो अन्तिम बिन्दुसम्म पुग्न नसकेको बताए । डा. रिजालले परिवर्तनलाई प्रतिनिधित्व गरेर बलियो प्रतिपक्ष बन्न आग्रह गरे । उनले मधेशी राजनीतिक दलहरूले पनि सत्तामोहमा फसेर आफ्ना एजेण्डा बिर्सिएको बताए । 

समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ

गत निर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले कांग्रेस-एमाले एक्लाएक्लै चुनाव लड्न आग्रह गरेको स्मरण गर्दै उनले आफू पनि सोही पक्षमा रहेको बताए । तर, पार्टी सभापति शेरबहादुर देउवाले माओवादीसँग मिलेर चुनाव नलड्दा माओवादी-एमालेसँग मिल्न जाने कुरालाई मध्यनजर गरी सँगै चुनाव लड्नुपरेको बताए ।

उनले परिणामतः निर्वाचन लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग मिलेर सरकार बनाउन गएको पुष्टिले सभापति देउवाको सोचलाई स्वीकार गर्न बाध्य भएको बताए । त्यसैले पनि अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन र संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । 

संशोधन र परिमार्जन भनेको अहिले बाहिर आएको भ्रम जस्तै नरहेको उनले बताए । उनले समुदाय, पहिचान, महिला, आदिवासी, जनजातिमध्ये पनि अल्पसंख्यकको, मधेशीहरूमध्ये पनि अल्पसंख्यकको प्रतिनिधित्वको बाटो यथावत राखेर एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।

उनले त्यो हुनसके मात्रै कुनै एक पार्टीले बहुमत नजिक वा बहुमत प्राप्त गर्न सक्ने बताए । नेता रिजालले जनताले खोजेको परिवर्तन, विकास र समृद्धिलाई मध्यनजर गरी वर्तमान सरकारले काम कारबाही अघि बढाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here