प्रधानमन्त्रीलाई प्रमुख सचेतक शाहीको चेतावनीः जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी नसेक्नुस्


२९ असार २०८१, शुक्रबार १६:५५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालाई चेतावनी दिनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गर्नुभयो । उहाँले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको बताउनु भयो ।

उहाँले जातीय छुवाछुतबिरुद्धको कानून राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गर्नुभयो । उहाँले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातियताको नाममा द्वन्द्व नभड्काउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, यो रोष्ट्रममा उभिएर काम कम कुरा ठूला गर्नु भएन । त्यसले हामी जस्ता नयाँ सांसदलाई पनि गलत भाष्य निर्माण हुन्छ । दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्नुभयो । हिरालाल विश्वकर्मा भन्ने सुन्नुभएको छ ।

यो देशको शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा । जातीय छुवाछुतबिरुद्धको कानून अहिले बनेको हो ? राजा महेन्द्रको पालमा २०२० तिर यो कानून बनाइएको हो । तपाईंहरुलाई खुला छ, राजनीति गर्नुस् । चुनाव हुन्छ, चुनावमा जानुस् ।

चुनाव जितेर आउनुस्, हामी जस्ता अभियन्ता र टेलिभिजनमा कार्यक्रम चलाउनुभएका रवि लामिछानेजी आज गृहमन्त्री हुनुहुन्छ । तर जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसदको रोष्टमबाट नहोस् । किनभने अत्ति भइसक्यो ।

प्रमुख सचेतक शाहीले शर्त नमिलेर सरकार ढलेको भनेर सत्य बोल्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here