चितवन । ‘हाम्रो अभियान, सुरक्षित र सहज ट्राफिक व्यवस्थापन’ भन्ने मुल नाराका साथ ३ नम्बर प्रदेश प्रहरी कार्यालय रामनगरले बुधबारदेखि तीन महिने सवारी दुर्घटना न्यूनीकरण अभियान सुुरु गरेको छ ।
प्रत्येक वर्ष सवारी दुर्घटनाका कारण झन्डै दुई हजार ५०० जनाले ज्यान गुमाउनु परेको भन्दै तीन नम्बर ट्राफिक प्रदेश प्रहरी कार्यालयले उक्त अभियान सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै तीन नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले जनचेतनाको अभाव र भौतिक संरचनाको कारण सवारी दुर्घटना बढ्दै गएको र त्यसतर्फ आम नगरिक सचेत हुनपर्ने अवस्था आएको बताए ।
तीन महिनासम्म सञ्चालन हुने उक्त कार्यक्रममा एक हजार ४१ वटा कार्यक्रम समावेश गरिएको ३ नम्बर प्रदेश ट्राफिक प्रमुख नविनराज राईले जानकारी दिए । त्यस कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लाले हरेक महिना कम्तिमा १० पटक मापसे जाँच गर्नुपर्ने, सवारी गति नियन्त्रण सम्बन्धी काम गर्ने, स्कुल तथा कलेजका विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी कक्षा सञ्चालन गर्ने, टोलटोलमा ट्राफिक सचेतनामूलक लगायतका कार्यक्रम गर्ने प्रदेश प्रहरी कार्यालयले योजना बनाएको छ ।





