पथरीमा बस र पिकअप ठोक्किँदा २ को मृत्यु, ३० जना घाइते


२ श्रावण २०७६, बिहीबार १३:०५ मा प्रकाशित

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा बस र पिकअप ठोक्किँदा २ जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बसका सहचालक कानेपोखरी–३ का ३१ वर्षीय टिकाराम थापा छन् । अर्का एकजनाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । अनुहारमा गम्भीर चोट लागेका कारण एक जनाको पहिचान भएको छैन । एकजनाको घटनास्थलमै र अर्काको नोबेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । विहीबार बिहान ९ः१० बजेको समयमा कानेपोखरीको बिहीबारेबाट यात्रु लिएर पूर्वतर्फ जाँदै गरेको को.१ ख ४८४२ नम्वरको बस र पथरी बजारको सब्जीबजारबाट पूर्वपश्चिम सडकतर्फ निस्किएको मे.१ च ५३९१ नम्बरको पिकअप ठक्कर खाँदा कारुणिक अवस्था सिर्जना भएको थियो ।

तीव्र गतिमा रहेका बस र पिकअप ठोक्किँदा बस सडकमा पल्टिएको थियो । बस र पिकअपको अगाडीको भाग पूरै कुच्चिएको छ । बसका सब सिसाहरु फुटेका छन् । अगाडीको चक्कासमेत निस्किएको छ । घाइतेहरुलाई तत्काल पथरी हस्पिटल र मोरङ अस्पताल लगिएको थियो । पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोलासहितका जनप्रतिनिधिले घाइतेहरुको उद्धार गर्दै उपचारमा पहल गरेका थिए । कानेपोखरी–४ का टीकाराम थापा, कानेपोखरी नारायण चोककी खिलमाया लिम्बू, कानेपोखरी ३ का मित्र दहालका छोरा नाम नखुलेका व्यक्तिसहित १० जनालाई विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

कानेपोखरी ३ की तारा लिम्बू र अविगेस राई, कानेपोखरी ५ की कविसा दहाल, कानेपोखरी ४ का सरण राई र नगेन्द्र कार्की, पथरीशनिश्चरे ५ की सीता खतिवडाको पथरीस्थित मोरङ हस्पिटलमा उपचार भइरहेको छ । झापा हल्दिवारीका टेकबहादुर भुसाल, बिर्तामोडका अविशेक कार्की, श्याम कार्की, बिर्तामोड ४ का जीवन बराइली, उर्लावारी ५ की इन्द्रमाया गुरुंग, डीवी माझी, ठेगाना नखुलेका होमबहादुर कटुवाल, प्रविना भट्टराई, सुकदेव धिमाल, प्रेमबहादुर कार्की, निर्मला गिरी सहित घाइते रहेको पथरी अस्पतालबाट जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here