जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न राष्ट्रपतिको आह्वान


२३ जेष्ठ २०८१, बुधबार १६:२८ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो आह्वान गर्नुभएको हो ।

उहाँले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तिब्र रुपमा हिमश्रृंखलाहरु र हिमतालहरुमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो लगायतका प्रकोपहरु बढेको बताउनु भयो । उहाँले विपद्का कारण तल्लो तटीय क्षेत्रका बासिन्दाका लागि आधारभुत जीवनयापनका चुनौतिहरु थपिएको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाल लगायत अन्य पर्वतीय मुलुकहरु एउटा विश्वव्यापी संकटको भुमरीमा फसेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि अब ढिला गर्ने समय नरहेको जिकिर गर्नुभयो ।

उहाँले नेपालको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकारात्मक असर न्युन गर्दै अनुकुलन क्षमता वृद्धि गरी उत्थानशिलता हाँसिल गर्न सहयोग पुग्ने बताउनु भयो ।

उहाँले उच्च श्रृंखला नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड, तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित किसिमको सम्बोधन हुनुपर्ने बताउनु भयो ।

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको अवसरलाई जीवन समृद्धि, आशाको शक्तिशाली प्रतिकको रुपमा बिरुवा रोपेर मनाउन आग्रह गर्नुभयो । वातावरण संरक्षणका लागि चौतारी र पोखरीको सभ्यताको जगर्ने गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here