रतुवा खोलाले जीप बगायो, दुई जनाको मृत्यु


२२ जेष्ठ २०८१, मंगलवार ०७:०८ मा प्रकाशित

झापा । झापाको दमकदेखि इलामको माङ्सेबुङतर्फ जाँदै गरेको बोलेरो जीप रतुवा खोलाले बगाउँदा दुई जनाको मृत्यु गएको छ ।

एक महिला र एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगूले जानकारी दिए ।

मृत्यु हुनेहरुमा इलाम माङ्सेबुङ गाउँपालिका ५ बस्ने वर्ष अन्दाजी ३० की सर्मिला वानेम र माङ्सेबुङ गाउँपालिका ३ बस्ने निरु लिम्बुका छोरा अन्दाजी वर्ष २ का निहाङ लिम्बू रहेका छन् ।

त्यस्तै इलाम माङ्सेबुङ गाउँपालिका ३ खलङ्गे बस्ने वर्ष अन्दाजी २६ की निरु लिम्बू घाइते भएकी छन् । उनको लाइफ लाइन अस्पताल दमक झापामा उपचार भइरहेको छ ।

सोमबार साँझ इलाम चुलाचुली ५ चेप्टीस्थित दमक–लारुम्बा भित्री सडकखण्डमा दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको बोलेरो जीप रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीको कारण गाडी बगाइ बेपत्ता भएको थियो ।

गाडीमा चालकसहित जम्मा ६ जना सवार रहेका थिए । घटनास्थलदेखि अन्दाजी १–२ किलोमिटर आसपासमा मृतकको शव फेला परेको थियो ।

चालकसहित तीनजना सकुशल निस्किएको प्रहरीले जनाएको छ । चालक तत्काल सम्पर्कमा नआएको बुझ्ने कार्य भइरहेको तथा गाडी घटनास्थलबाट निकाल्ने पहल भइरहेको डीएसपी जवेगूले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here