देशका विभिन्न भागमा विद्युत कटौति गरेकोमा सांसदहरुको आक्रोश


२१ जेष्ठ २०८१, सोमबार १८:४२ मा प्रकाशित

देशका विभिन्न शहरहरुमा विद्युत कटौति हुने गरेकोमा सांसदहरुले आपत्ति जनाएका छन् ।

तराई, मधेसमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत आपूर्ति पनि कटौति गरिएको भन्दै सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आक्रोश व्यक्त गरेका हुन् ।

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद दीपा शर्माले ४४÷५४ डिग्रीको चर्को गर्मीको सामना गरिरहेको नेपालगंजमा अघोषित रुपमा विद्युत कटौति हुने गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले जनतालाई गर्मीबाट तत्काल राहत दिन पनि विद्युत आपूर्ति व्यवस्थालाई तत्काल सहज बनाउन सरकारसँग माग गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले पनि जनतामा थप मारमा पार्नेगरी विद्युत कटौति नगर्न सरकारलाई दबाब दिनुभयो । उहाँले गर्मीले जनताको जीवन कष्टकर बन्दै गएकाले सरकारले विद्युत आपूर्ति सहज बनाउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले ललितपुरवासीका लागि तत्काल खानेपानीको समस्या समाधान हुनेगरी बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नारायणहिटी संग्रहालय भित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले नेपाल सरकारले सो स्मारक खुलाउन नसक्ने हो भने त्यसको जिम्मा काठमाडौं महानगरपालिकालाई दिए हुने सुझाव समेत दिनुभयो ।

सांसद सिंहले गणतन्त्र स्मारक अध्येताहरुका लागि अनुसन्धान गर्ने विषय पनि भएको हुनाले त्यसलाई खुला गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने जिकिर समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here