एक लाख ८५ हजारले गरे चितवन राष्ट्रिय निकुञ्जको अवलोकन


१ श्रावण २०७६, बुधबार १७:३९ मा प्रकाशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको अवलोकन गर्ने क्रम बढेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार आर्थिक वर्ष २०७५/७६ मा एक लाख ८५ हजार ६ सय ४४ जनाले निकुञ्जको अवलोकन गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा अवलोकन गर्ने पर्यटकहरु मध्ये ४४ हजार पाँच सय १२ जना नेपाली, २४ हजार सात सय ३८ जना सार्क मुलुकका र एक लाख १६ हजार तीन सय ९४ जना विदेशी रहेका निकुञ्जले जनाएको छ । पर्यटकको आगमनबाट २९ करोड १० लाख ९७ हजार आठ सय २३ रुपैयाँ राजश्व संकलन गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।

गत, आर्थिक वर्ष २०७४/७५ मा एक लाख ५२ हजार ६ सय ७१ जनाले निकुञ्ज अवलोकन गर्दा २४ करोड ८१ लाख ९९ हजार नौ सय ९८ रुपैयाँ राजश्व संकलन गरेको थियो । यस वर्ष निकुञ्जमा ७१ वटा पोखरी निर्माण तथा मर्मत सुधार, पाँच वटा सिमसार व्यवस्थापन, दुई सय हेक्टर घाँसे मैदान व्यवस्थापन, वन डढेलो नियन्त्रण तथा गस्तीका लागि अग्नी रेखा निर्माण गरिएको निकुञ्जले जनाएको छ ।

यस्तै, एक वर्षको अवधिमा प्राकृतिक कारणले ४३ वटा गैँडा मरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा ३४ वटा, मध्यवर्ती क्षेत्रमा सातवटा र डिभिजन वनभित्र दुई वटा गैँडा प्राकृतिक कारणले मरेका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख ढकालले बताए । उनका अनुसार आपसमा लडेर, घोलमा फसेर, बूढो भएर, बाघले खाएर, बच्चा पाउन नसकेर गैँडा धेरै प्राकृतिक कारणले मरेका छन् । चालू आर्थिक वर्षमा निकुञ्जले पटकपटक पूरै खानतलासी (स्विप अपरेसन) गरेको थियो ।

निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । दुई वर्षअघि आएको बाढीका कारण पनि गैँडा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । बाढीले बगाएको नौवटा गैँडा यसै वर्ष निकुञ्जले भारतबाट ल्याएको थियो । आगमी वर्ष चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना हुनेछ । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । सशस्त्र द्वन्द्वको समयमा वि.सं २०५८ मा एकै वर्षमा ३७ वटा गैँडा सिकारीले मारेका थिए ।

शिकारीले मार्ने क्रम शून्य भए पनि गैँडा प्राकृतिक कारणले मर्ने क्रम बढेको छ । एक वर्षको अवधिमा आठवटा बाघ, १४ वटा चित्तल, तीनवटा बँदेल र नौवटा घडियाल गोही मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यस्तै, एक वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट चितवनमा ११ जनाको ज्यान गएको छ । निकुञ्जले चालू आर्थिक वर्ष २०७५/७६ मा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भएको जनाएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले जंगली हात्तीको आक्रमणबाट छ जना, बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट दुई जना र मगर गोहीबाट एक जनाको मृत्यु भएको बताए । ११ जनामध्ये सबैभन्दा बढी ६ जना माडी नगरपालिकाका छन् । वन्यजन्तुको आक्रमणबाट माडी क्षेत्र बढी प्रभावित छ ।

माडी चितवन निकुञ्जको जंगल र सोमेश्वर पर्वत श्रृंखलाअन्तर्गतको जंगलले चारैतर्फबाट घेरिएको इलाका हो । भरतपुरबाट लगभग ५० किलोमिटर दक्षिणमा रहेको माडीका बासिन्दा घाँस–दाउरा गर्न जंगलमै निर्भर रहने अवस्था छ । बाँदरझुला, कुसुमखोला, प्याउलीजस्ता माडीका केही बस्तीहरु वन क्षेत्रभित्रै रहेका छन् । गत वर्ष २०७४÷७५ मा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको ज्यान गएको थियो । यसवर्ष मृतकको संख्या बढेको र त्यो मानवीय कारणले नै हुन गएको निकुञ्जको भनाइ छ । पछिल्लो समय मानव र वन्यजन्तुको द्वन्द्व बढ्दै गएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here