बिर्तामोडकी विष्टको हत्या आरोपितलाई आज प्रहरीले सार्वजनिक गर्दै


१७ जेष्ठ २०८१, बिहीबार ०८:१२ मा प्रकाशित

झापा । झापा बिर्तामोड–४ कालिकानगर निवासी ६७ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा पक्राउ परेकाहरुलाई आज दिउँसो १ बजे प्रहरीले सार्वजनिक गर्दैछ।

जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। बिष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा बुधवार प्रहरीले चारजनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

गत बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिकानगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो। हत्याराको खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए।

कुनै सुराक फेला पार्न नसकेका कारण केही ढिला आरोपी पक्राउ परेको प्रहरी स्रोतको दावी छ। घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बिर्तामोडको गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए।

बैशाख २६ गते घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन्। उनको खन्तीले हानेर हत्या गरिएको थियो।

प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो। कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत दिए पनि लिटल फ्लावर्स स्कुल दक्षिण पुगेपछि अलमलिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here