पालिकालाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने योजना छः अर्थमन्त्री पुन


१६ जेष्ठ २०८१, बुधबार १६:४६ मा प्रकाशित

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पालिकालाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने बताउनुभएको छ ।

मंगलबार संसदमा पेश गरेको बजेटबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले पालिकालाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित आउँदो आर्थिक वर्षको बजेट ल्याएको बताउनुभयो ।

पालिकामा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापनालगायतका लक्ष्य बजेटमार्फत लिइएको उहाँको भनाइ छ ।

अर्थमन्त्री पुनले कसैको अनुहार हेरेर करका दर हेरफेर नगरेको दाबी पनि गर्नुभयो । कच्चा पदार्थअनुसार नै भन्सार दर र अन्तःशुल्क कायम गरिएको भन्दै उहाँले करका दर औचित्यसहित परिवर्तन गरिएको बताउनुभयो ।

अर्थमन्त्री पुनले आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेटले युवा पुस्तालाई नयाँ अवसर देखाएको समेत बताउनुभयो । उहाँले बजेटमा केही प्राविधिक त्रुटि देखिए पनि अन्य हिसाबले सही रहेको दाबी गर्नुभयो ।

अर्थमन्त्री पुनले बजेट बोक्ने झोला नेपाली प्रयोग भएको र अब आफ्नो मन्त्रालयमा नेपाली फर्निचर मात्रै प्रयोग गर्ने योजना रहेको समेत बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here