कांग्रेस सभापति देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बूढानीलकण्ठमा


१३ जेष्ठ २०८१, आईतवार १०:३४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उनको निवास बूढानीलकण्ठ पुगेका छन्।

सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच सहमतिको प्रयास भइरहेका बेला प्रधानमन्त्री दाहाल र देउवाबीच भेटवार्ता भएको हो।

कांग्रेस संसदीय छानबिन समिति नबन्दासम्म संसद्‌मा अवरोध जारी राख्ने अडानमै छ। कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ।

हिजो दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए।

सत्ता पक्षीय दलहरू भने समिति बनाउनुपर्नेमा सहमत भएपनि रविको नाम नै किटान गर्ने कुरामा सहमत हुन नसक्दा पटक-पटकका छलफलहरू निष्कर्षविहीन हुँदै आएको छ।

फागुन २१ मा नेकपा (एमाले)सँगको नयाँ गठबन्धन बनाएसँगै प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेस शेरबहादुर देउवाबीचको दूरी बढेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here