काँग्रेसलाई पूर्ण रूपमा ‘डिजिटलाइज’ गर्छौं, पुराना अभिलेख हटाइँदैनः महामन्त्री पौडेल


२ बैशाख २०८३, बुधबार १५:४७ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताउनुभएको छ । 


बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सदस्यहरूको क्षमता पहिचान गर्ने र उनीहरूलाई उचित जिम्मेवारी दिने उद्देश्यले डिजिटल नवीकरणको प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।

महामन्त्री पौडेलले कुनैपनि व्यक्ति कुन मितिदेखि काँग्रेसको सदस्य भयो, उसको क्षमता के हो र उसले के जिम्मेवारी पाउँदा राम्रोसँग काम गर्नसक्छ भन्नेकुरामा पार्टी अब प्रविधिमार्फत जानकार रहने उल्लेख गर्नुभयो ।

सदस्यता अद्यावधिक गर्ने क्रममा पुराना सदस्यहरूको अभिलेख हटाउन लागिएको भन्नेकुरा सत्य नरहेको बताउनु भयो । पार्टीभित्रको एकता र अनुशासनका विषयमा चर्चा गर्दै पौडेलले निर्वाचनपछि जनमतको हिसावले पार्टी केही कमजोर देखिएकाले यतिबेला एकताको झन् बढी आवश्यकता रहेको बताउनु भयो । 

आगामी अधिवेशनलाई व्यवस्थित, विधिसम्मत र पूर्वाग्रहरहित ढंगले सम्पन्न गर्न वर्तमान नेतृत्व तयारी समितिको रूपमा क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो । महामन्त्री पौडेलले अधिवेशन सफल बनाउन, सदस्यता अद्यावधिक गर्न र पार्टीले सार्वजनिक गरेको क्यालेण्डर कार्यान्वयन गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई सहयोगको अपिल गर्नुभयो ।

अग्रज नेताहरूलाई अभिभावकको रूपमा सम्मान गर्ने बताउँदै उहाँले उहाँहरूको अनुभवलाई पार्टी संगठन सुदृढीकरणमा उपयोग गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here