उत्पादन बढाउन गोरखाका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण


५ जेष्ठ २०८१, शनिबार १६:१८ मा प्रकाशित

गोरखा : जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ।

गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका अनुसार वडा कार्यालयमार्फत किसानसँग ५० प्रतिशत लागत साझेदारीमा हाते ट्रयाक्टर खरिद गरेर वितरण गरिएको हो। 

कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धिमा टेवा पुर्‍याउन आधुनिक औजार अनुदानमा उपलब्ध गराउने पालिकाको नीतिअनुरूप हाते ट्याक्टर प्रदान गरिएको छ।

खेती गर्न गाउँमा गोरु पाइनै छाडेका छन्, उनले भने, अब कृषिलाई प्रविधिमैत्री बनाउँदै जानुपर्छ, गोरुको अभावमा खेतबारी बाँझै रहनु हुँदैन।

अध्यक्ष तिमल्सिनाले परम्परागत खेती प्रणालीबाट कृषिमा लगानी बढी र उत्पादन कम हुने भएकाले पनि किसानले लाभ लिन नसकेका बताए।

परम्परागत खेती प्रणालीले उत्पादन बढाउन सकिँदैन, उनले भने, अब लागत कम गरेर उत्पादन वृद्धि गर्नुपर्छ त्यसका लागि यान्त्रिकीकरण अनिवार्य भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here