प्रदेश १ को बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी


१ श्रावण २०७६, बुधबार ११:५६ मा प्रकाशित

विराटनगर । प्रदेश १ को बाढी प्रभावित क्षेत्रमा सर्पदंशको प्रकोप बढेको छ । बाढी र डुबान प्रभावित क्षेत्रका मानिस सर्पको डसाइबाट बिरामी परेपछि एक सातादेखि स्थानीय अस्पतालहरूमा बिरामीको चाप बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

विराटनगरस्थित कोशी अञ्चल अस्पतालका अहेव अर्जुन मण्डलले दैनिक ९–१० जना सर्पदंशका बिरामी भर्ना हुन आउने गरेको जानकारी दिए । अस्पताल प्रशासनका अनुसार, एक सातामा सर्पदंशका करिब ७० बिरामी भर्ना भएका छन् । तर, उनीहरूमध्ये कसैको पनि मृत्यु भएको छैन । प्रदेश १ अन्तर्गतका अन्य स्वास्थ्य संस्थामा पनि सर्पदंशका बिरामी केही दिनदेखि बढेका छन् ।

औषधि आपूर्ति सहज

बाढीका कारण सर्पदंशका बिरामी बढेसँगै अस्पतालहरूमा औषधिको माग पनि बढेको छ । औषधिको मागलाई ध्यानमा राखेर २५ सय एन्टिस्नेक भेनम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा मौज्दात राखिएको छ ।केन्द्रका प्रमुख भरत शाहले यो वर्षका लागि आएको ५ हजार एन्टिस्नेक भेनम प्रदेशका विभिन्न सर्पदंश उपचार केन्द्रमा पठाइ सकिएकाले उपचारमा औषधि अभाव नरहेको जानकारी दिए ।

‘बाढी र डुबानपछि सर्पदंशका बिरामी बढेको भन्दै स्वास्थ्य संस्थाबाट औषधिको अत्यधिक माग छ’, प्रमुख शाहले भने, ‘माग अनुसारको आपूर्ति व्यवस्थालाई सहज बनाइसकेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here