लू’ सँग लड्न सरकार सँग छैन रणनीति


११ बैशाख २०८१, मंगलवार १२:१२ मा प्रकाशित

विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुभाव दिएका छन् । नेपालमा लुको अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्न सुझाव दिएका हुन् ।
यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्व तयारीको काम अहिलेबाट नै शुरु गर्न सरकारसँग आग्रह गरेका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले सरकारले लूबाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले राष्ट्रिय रुपमा लू आएको अवस्थामा, अत्याधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? शहर/गाउँ कुन ठाउँलाई बढी प्राथमिकता दिएर योजनाहरु बनाउने भन्नेबारेमा चासो दिनुपर्नेमा जोड दिनुभयो ।

आम नागरिकहरुलाई लूबाट जोगाउन अहिले नै प्रतिकार्यका कार्यक्रम लागू गर्न आग्रह गर्नुभयो । उहाँले रोजगारीको क्षेत्रदेखि किसानहरुलाई समेत गर्मीले बढी असर गर्ने भएकाले कस्तो सावधानी अपनाउने र कस्तो योजना बनाएर अघि बढ्ने भन्नेबारेमा सरकार चनाखो हुन जरुरी रहेको बताउनु भयो ।

धेरै देशहरुले गर्मीबाट बच्ने रणनीति बनाइसकेको उल्लेख गर्दै डा.उपे्रतीले नेपालले पनि मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिहरुमा पर्ने असरलाई मध्यनजर गरी हिट एक्शन प्लान बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा गर्मीको प्रभाव न्युनिकरणका लागि नेपालले दिशानिर्देशका उपायहरु नबनाएको गुनासो गर्नुभयो । उहाँले तापक्रम वृद्धि भएको आधारमा लू भयो भन्ने मात्रै नभइ प्रभावमा आधारित पूर्वसूचनाको रुपमा रणनीति बनाइ अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

पूर्व चेतावनीलाई बेवास्ता गर्नु नहुने भन्दै विज्ञ उप्रेतीले संवेदनशील भएर सरकारले काम थालिहाल्न आवश्यक रहेको बताउनु भयो । तातो हावा लूले निम्त्याउने समस्यालाई समयमै नबुझे जटिल बन्दै जाने चेतावनी दिनुभयो । उहाँले स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

गर्मीबाट बच्न के गर्ने÷के नगर्ने ? विज्ञ उप्रेतीका सुझावः

घरमै बस्ने ।

बसेको स्थानमा चिसो अवस्था कायम गर्ने ।

मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिरि हिँडडुल कम गर्ने, गर्नैपरे, छाता लगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने ।

गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिहरुले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने ।

गर्मीको प्रभाव न्युनिकरण गर्न स्वास्थ्यचौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा राख्ने ।

स्वास्थ्यकर्मी÷स्वास्थ्य स्वयंसेविकाहरुलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने ।

खानेकुरामा सावधानी अपनाउनेः जस्तै चिया कफीको ठाउँमा लस्सी, मोही, दही, पुँदिनाको रस, चामल पखालेको (चौलानी) खाने ।

प्रोटिनयुक्त खानेकुरा कम गर्ने÷नखाने । जस्तैः दुध, माछा मासु आदि ।

सरकारले के गर्नुपर्छ ?

सरकारले भएका अस्पतालहरुको अवस्था नियालेर गर्मीबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी शतर्क रहन आग्रह गर्नुपर्छ ।

स्थानीय सरकार (७५३ वटै पालिकाहरु) ले पालिकामा रहेका स्वास्थ्य केन्द्रहरुलाई शतर्क रहन आग्रह गर्नुपर्छ ।

क्षेत्रिय अस्पतालहरु पनि सक्रिय बनाउनुपर्छ ।

तीन तहकै स्वास्थ्य केन्द्रहरुले गर्ने कामको सन्दर्भमा स्पष्ट नीतिका साथ अघि बढ्नुपर्छ ।

पूर्व चेतावनीलाई ख्यालख्यालमा लिनु हुँदैन र संवेदनशील हुन जरुरी छ ।

स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउनुपर्छ ।

लू बाट बच्ने घरेलु उपायः

घरबाहिर निस्किँदा छाताको प्रयोग गरौँ ।

घाममा निस्किँदा टाउको छोप्ने कपडाको प्रयोग गरौँ । यसरी पनि लू बाट बच्न सकिन्छ ।

घरबाट बाहिर निस्कनु प¥यो भने चिसो पानी र चिसो सर्वत पिएर मात्रै निस्किने बानी बसालौँ ।

गर्मीबाट हिँडेर आउने बित्तिकै तत्काल चिसो पानी नपिउनुस् ।

गर्मी समयमा बारम्बार पानी पिइराख्नुस् । किनभने यसले शरीरमा पानीको मात्रालाई कम हुन दिँदैन ।

पानीमा कागती हालेर र नुन मिसाएर दिनमा तीन पटक जति पानी पिउनुभयो भने पनि लू लाग्नबाट बच्न सकिन्छ ।

गर्मीमा बाहिर जाँदा खाली पेट नहिँड्नुस्, तरकारीको झोल पिउँदा पनि लू बाट बच्न सकिन्छ ।

गर्मीमा कम खाना खाने बानी बसालौँ । खानामा दही अनिवार्य गरौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here